एमालेले कांग्रेससँग गठबन्धन गर्दैन : उपाध्यक्ष ज्ञवाली

बिहिबार, १ चैत, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्तागठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन्। प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले यो गठबन्धनबीचमा नटुट्ने दाबी गरे। 

‘हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नुहुँदैन। शंका छ, एमाले कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर,’ उनले भने, ‘तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ।’

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिस्ट एकता पनि हुन सक्ने उनले बताए। तर, एकताको लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उनको भनाइ छ। ‘मोर्चाको काम गर्ने स्थिति, जनतालाई राम्रो परिणाम दिन्छ, कि दिँदैन। त्यसका आधारमा पार्टी एकीकरणको ठाउँमा पुग्न सक्छ,’ उनले भने, ‘तत्काल भने त्यो सम्भव छैन।’  

देशको आवश्यकताअनुसार यो मोर्चा बनेकोसमेत उनले बताए। अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ। नेता ज्ञवालीले पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुने बताए। 

सुझावित समाचार