नेपाल र पपुवा न्युगिनीबीच उपाधि भिडन्त

मंगलबार भएको नेपालविरुद्धको पहिलो खेलमा ८५ रनले पराजित पपुवा न्युगिनीले लगत्तै दोस्रो खेलमा हङकङलाई १० विकेटले हरायो

बुधबार, ३० फागुन, २०८०
डिजिटल संस्करण

हङकङमा चलिरहेको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोतिगाअन्तर्गत मंगलबार दुई खेल भए । पहिलो खेलमा नेपालले पपुवा न्युगिनीमाथि ८५ रनको सानदार जित निकालेको थियो । दोस्रो खेलमा पपुवा न्युगिनीले आयोजक हङकङलाई १० विकेटको निराश पार्दै फाइनल स्थान पक्का गरेको हो ।

नेपालले सर्वाधिक तीन अंक बटुल्यो । अन्तिम दुई स्थान बनाएको पपुवा न्युगिनीले दुई अंक जोड्यो । हङकङ एक अंकका साथ तेस्रो भयो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’विरुद्ध खेल्नेछ । पपुवा न्युगिनीमाथि सानदार जित निकाल्ने क्रममा म्यान अफ दी म्याच कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङको क्रममा ३९ बलमा ५९ रन तथा बलिङमा १२ रन खर्चेर चार विकेट हात पारे । यसै खेलबाट कुशलले अन्तर्राष्ट्रिय टी–२० खेलमा एक हजार रन पूरा गरेका छन् । 

पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनीका खेलाडीले कुशलको घातक बलिङ सामना गर्न नसक्दा १६.१ ओभरमा सबै विकेट गुमाएर एक सय १३ रनको योगफल खडा गरेको थियो । 

 कमजोर पपुवा न्युगिनी
लक्ष्य पछ्याएको पपुवा न्युगिनीले नेपाली बलरविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । विशेषतः भुर्तेलले आफ्नो स्पेलमा विकेट लिँदै गएपछि पपुवा न्युगिनी ब्याटिङमा कमजोर देखिएको हो । ओपनर टोनी उरा र सेसे बाउले पहिलो विकेटका लागि २.६ ओभरमा ३२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । प्रतिष जिसीले टोनीको विकेट लिएसँगै नेपालले खेलमा पकड बनायो । सिसे पनि ३.२ ओभरमा गुल्सनबाट रन आउट भए । उनले १३ बलमा दुई चौका र एक छक्का प्रहार गरी २१ रन जोडे । त्यसपछि हिरीले मात्र १९ बलमा २८ रन बनाए । पपुवा न्युगिनीका सात ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । भुर्तेलबाहेक नेपालका लागि प्रतिषले चार ओभरमा ४० रन खर्चेर दुई विकेट हात पारे । आकाश चन्द र गुल्सनले समान एक विकेट हात पारे ।

भुर्तेलले पूरा गरे हजार रन
नेपालका ओपनर भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० खेलमा एक हजार रन पूरा गरेका छन् । सन् २०२१ मा नेदरल्यान्ड्सविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले यस फम्र्याटमा डेब्यु गरेका थिए । डेब्युयता निरन्तर रूपमा राष्ट्रिय टोलीमा स्थान बनाएका भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० को फम्र्याटमा ३६ खेलमा ३५ इनिङ्स खेल्दै एक हजार आठ रन जोड्न सफल भएका छन् । उनले यसक्रममा आठपटक अर्धशतक तथा एकपटक शतकीय इनिङ्स खेलेका छन् ।

उनको सर्वाधिक व्यक्तिगत रन १०८ हो । उनले टी–२० खेलमा ४४ चौका र २३ छक्का प्रहार गरेका छन् । यस फम्र्याटमा उनले एक सय ३२.८० को स्ट्राइकमा ब्याटिङ गरेका छन् । भुर्तेललले पपुवा न्युगिनीविरुद्ध विस्फोटक ब्याटिङ गरे । उनले चार चौका र चारै छक्का प्रहार गरे । नेपालबाट अन्तर्राष्ट्रिय टी–२० खेलमा एक हजार रन पूरा गर्ने उनी दोस्रा खेलाडी हुन् । यसअघि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पूरा गरेका थिए । दीपेन्द्रले ५८ खेलमा एक जहार चार सय ७६ रन बनाएका छन् । उनले एक शतक तथा आठ अर्धशतक बनाएका छन् ।

 पपुवा न्युगिनीविरुद्ध बलियो ब्याटिङ
नेपाली खेलाडीले पपुवा न्युगिनीविरुद्ध दरिलो ब्याटिङ प्रस्तुत गरेको थियो । पहिलो ब्याटिङ गरेको नेपालका लागि भुर्तेल र विनोद भण्डारीबीच पहिलो विकेटका लागि ७.३ ओभरमा ६४ रनको साझेदार भयो । भण्डारीले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरी २७ रनको योगदान दिए । 

ओपनिङ राम्रो भएको नेपालको मध्यक्रम एक समय कमजोर देखियो । कप्तान रोहितकुमार पौडेलले चार बल साना गरी एक रन तथा आरिफ सेखले सात बलमा चार रन जोडे । दुवै ब्याट्सम्यान पाँच रनको अन्तरमा पेभेलियन फर्कँदा नेपाल ९.३ ओभरमा ७०÷३ को स्थितिमा रह्यो । त्यसपछि भुर्तेल र सन्दीप जोराले ब्याटिङ इनिङ्स सम्हाले । दुवैले चौथो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपाललाई १४.३ ओभरमा १२०÷४ को बलियो स्थितिमा राखे । 

भुर्तेल भानुआको ओभरमा क्याच आउट भए । सन्दीप १७.५ ओभरमा आउट भए । उनले २६ बलमा ५७ रनको उत्कृष्ट योगदान दिए । उनले यसक्रममा चार छक्का र तीन चौका प्रहार गरे । उनको यो दोस्रो टी–२० अर्धशतक हो । गुल्सन झा र सन्दीपले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । 

गुल्सनले १२ बलमा एक छक्काको सहयोगमा १५ रन बनाए । लोकेश बम र विवेक यादवले पुछारमा आक्रामक ब्याटिङ गरे । लोकेशले ६ बलमा दुई छक्काको मद्दतमा १४ रन तथा विवेकले चार बलमा तीन छक्काको सहयोगमा १९ रन बनाए । नेपालले पपुवा न्युगिनीबाट तीन रन मात्र अतिरिक्त पाएको थियो । 

सुझावित समाचार