टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा नामिबियाले नेपालमाथि २० रनको रोमाञ्चक जित हासिल गरेको छ ।
दुई सय सात रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८६ रनमा अलआउट भएपछि नेपाल २० रनले पराजित भएको हो ।
दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा रहँदा जिततर्फ अग्रसर देखिएको नेपाल दुवै ब्याटर आउट भएपछि सात बल अघि नै अलआउट हुन पुग्यो ।
दीपेन्द्र र सोमपालबीच २१ बलमा ३६ रनको साझेदारी भएपछि नेपाल खेलमा फर्किएको थियो । तर, विस्फोटक ब्याटिङ थालेका सोमपाल २६ रनको अवस्थामा आउट हुनु नेपालको दुर्भाग्य बन्यो । ११ बल खेलका उनले तीन छक्का र एक चौका प्रहार गरे ।
नेपालको इनिङमा सबैभन्दा ठूलो स्कोर दीपेन्द्रको नाममा रह्यो । उनले ३२ बलमा ४८ रन बनाए । दुई छक्का र समान चौका प्रहार गरेका उनी ट्रम्पलमनको १८औँ ओभरको चौथो बलमा ट्र्यापमा परे ।
त्यसअघि कप्तान रोहितकुमार पौडेलले तीन छक्का र समान चौकाको मद्दतमा २४ बलमा ४२, कुशल मल्लले एक छक्का र चार चौकाको मद्दतमा २१ बलमा ३२, गुल्सन झाले ६ बलमा १२ रन बनाए ।

कुशल भुर्तेल शून्य, आसिफ सेख ६, सन्दीप जोरा पाँच तथा अविनाश बोहरा शून्य रनमा आउट भए । करण केसी दुई रनमा अविजित रहे ।
दीपेन्द्र आउट भएपछि अन्तिम जोडीका रूपमा करणसँगै अविनाश क्रिजमा थिए । अविनाश पहिलो बलमै बोल्ड भएपछि करणबाट खेल जिताउने आशा तुहिन पुग्यो ।
विशाल लक्ष्य पछ्याएको नेपालको ब्याटिङ पुरानै कमजोरीका कारण धराशायी बन्न पुग्यो । विकेटले साथ दिँदा दिँदै पनि लगातार गलत सट प्रहार गरेर नेपाली ब्याटर आउन हुन पुगे ।
त्यसअघि देब्रेहाते ब्याटर जान निकोल लोफ्ट इटनको कीर्तिमानी शतकमा नामिबियाले २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको नामिबियाको निर्णय सही साबित गराउँदै इटनले आठ छक्का र एघार चौकाको मद्दतमा ३३ बलमै शतक प्रहार गरेर नयाँ विश्वकीर्तिमान बनाए ।
यसअघि यो रेकर्ड नेपाली देब्रेहाते ब्याटर कुशल मल्लको नाममा थियो । कुशलले सन् २०२३ मा एसिया कपमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर विश्वकीर्तिमान राखेका थिए ।
नामिबियाका लागि ओपनर मलान क्रुगरले ४८ बलमा दुई छक्का र ६ छक्काको मद्दतमा ५९ रन बनाए । उनी अविजित रहे भने अर्का ओपनर माइकल भान लिंगेनले १९ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २० रन बनाए ।
बलिङमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले दुई तथा करण केसी र अविनाश बोहराले एक–एक विकेट लिए । गुल्सन झा सबैभन्दा महँगो साबित भए । एक ओभर बलिङ गरेका उनले १८ रन दिए । इटनले उनकै ओभरमा तीन छक्का प्रहार गर्दै विस्फोटक इनिङ सुरु गरेका थिए ।
अविनाशले चार ओभरमा ४९ रन दिए, तीन ओभरमा सोमपाल कामीले ३४, करण केसीले ३२ रन दिए भने चार ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३२ र रोहितले ३० रन दिए ।