नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेको क्षतिमा दुई सय ६ रन बनाएपछि नेपालले दुई सय सात रनको लक्ष्य पाएको हो । 

टी–२० अन्तर्राष्ट्रियमा नामिबियाको तेस्रो ठूलो स्कोर खडा गर्ने क्रममा नामिबियाका देब्रेहाते ब्याटर जान निकोल लोफ्ट इटनले कीर्तिमानी शतक प्रहार गरे । 

उनले आठ छक्का र एघार चौकाको मद्दतमा ३३ बलमै शतक प्रहार गरेर नयाँ विश्वकीर्तिमान बनाएका हुन् । यसअघि यो रेकर्ड नेपाली देब्रेहाते ब्याटर कुशल मल्लको नाममा थियो । 

कुशलले सन् २०२३ मा एसिया कपमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर विश्वकीर्तिमान राखेका थिए । तर, इटनले आज नेपालविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कुशलको रेकर्ड तोडे । 

नेपाली सबै बलरविरुद्ध निर्मम प्रहार गरेका इटनले ३६ बल खेलेर एक सय एक रन बनाए । उनको विकेट अविनाश बोहराले लिए । 

नामिबियाका लागि ओपनर मलान क्रुगरले ४८ बलमा दुई छक्का र ६ छक्काको मद्दतमा ५९ रन बनाए । उनी अविजित रहे । 

अर्का ओपनर माइकल भान लिंगेनले १९ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २० रन बनाए । 

बलिङमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले दुई तथा करण केसी र अविनाश बोहराले एक–एक विकेट लिए । 

गुल्सन झा सबैभन्दा महँगो साबित भए । एक ओभर बलिङ गरेका उनले १८ रन दिए । इटनले उनकै ओभरमा तीन छक्का प्रहार गर्दै विस्फोटक इनिङ सुरु गरेका थिए । 

अविनाशले चार ओभरमा ४९ रन दिए, तीन ओभरमा सोमपाल कामीले ३४, करण केसीले ३२ रन दिए भने चार ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३२ र रोहितले ३० रन दिए । 

सुझावित समाचार