आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा उपाधि दाबेदार नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई एक सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै ३९ ओभरमा मात्र एक सय ३७ रन बनाउन सक्यो। कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए। पार्टटाइम बलर कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए। २७ वर्षीय अलराउन्डर कुशलको यो ओडिआईको ५०औँ खेल हो । नेपाली बलरले घातक बलिङ गरेपछि नेदरल्यान्ड्स सस्तैमा समेटिएको हो।
यसअघि बलर सोमपाल कामीले नेदरल्यान्ड्सका मिचल लेभितलाई तेस्रो बलमै देव खनालबाट क्याच गराएपछि नेदरल्यान्ड्स कुनै पनि समय खुलेर खेल्न सकेन। ६ ओभरमा १८ रन जोड्दा अर्का ओपनर म्याक्स ओ डावड १० रन बनाएर रनआउट भए। २१ बल खेलेका उनलाई भीम सार्कीबाट ललितनारायण राजवंशीले रनआउट गराएका हुन्।
२३ रन बनाएका साइब्रान्ड एंगलब्रतलाई ललितले नै आउट गराए । ललितले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरेका बास डी लिडलाई २७ रन बनाउँदा चौथो विकेटको रूपमा बोल्ड गरे। लिड आउँट हुँदा १९।२ ओभरमा नेदरल्यान्ड्स ६७ रन बनाएर खेलिरहेको थियो।
पाँचौँ विकेटको रूपमा कुशल मल्लले नोआह क्रोइसलाई १२ रन बनाउँदा रनआउट गराए। कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै वेस्ली बारेसीलाई खाता नखोली दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका हुन्। कप्तान रोहितकुमार पौडेलले एक रन जोडेका सारिज अहमदलाई बोल्ड गरेपछि २७-२ ओभरमा नेदरल्यान्ड्स १०१–७ को कठिन अवस्थामा पुगेको थियो।
भुर्तेलले आफ्नो चौथो ओभरमा आर्यन दतलाई २० बलमा १० रन बनाउँदा भीम सार्कीबाट क्याचआउट गराएका हुन्। दत आउट हुँदा ३२-२ ओभरमा नेदरल्यान्ड्स १२२–८ को अवस्थामा थियो। टस जितेर सुरुवाती बलिङ गरेको नेपालको लागि कुशलले सर्वाधिक तीन विकेट लिए। ७ ओभरमा उनले मात्र २० रन खर्चिए।
१० ओभरमा ३२ रन खर्चिएका ललितनारायण राजवंशीले २ विकेट हात पारेका छन्। कप्तान रोहित र सोमपाल कामीले समान एक विकेट लिए। कुशल मल्ल, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी विकेटविहीन रहे। कीर्तिपुर मैदानमा नेपाल पहिलोपटक नेदरल्यान्ड्ससँग खेलिरहेको छ। हालसम्म नेपाल र नेदरल्यान्ड्स चारपटक प्रतिस्पर्धा गर्दा नेदरल्यान्ड्सले दुई तथा नेपालले एकपटक खेल जितेका छन्। एक खेल नतिजाविहीन भएको छ।