सहकारीको सहयोगले बनायो उद्यमी

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण
सहकारीको सहयोगले बनायो उद्यमी

कैलालीको लम्कीचुहा नगरपालिका– ३ चिल्काकी उषादेवी खड्काले किसान बहउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएर सञ्चालन गरिरहेको कुखुरा फार्म ।

खानलाई खेतमा उब्जाएको अन्नबालीले पुगे पनि नुनतेल, लुगाफाटो, बिरामी पर्दा औषधोपचारका लागि खर्चको जोहो गर्न धौधौ पर्थ्यो । श्रीमान् बेरोजगार थिए । वृद्धावस्थामा भारतमा काम गर्ने ससुराले पठाउने पैसाले मुस्किलले घर खर्च धानेको थियो । कैलालीको लम्कीचुहा नगरपालिका– ३, तिल्काकी उषादेवी खड्काको दशकअघिको यस्तो अवस्था अहिले फेरिएको छ । घरखर्च चलाउन उनले अहिले अरूसँग हात फैलाउनुपरेको छैन । लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा उद्यम सुरु गरेपछि उनको परिवारको जीवनस्तर फेरिएको हो ।

घरखर्चको समस्याले पिरोलेपछि उनले आफैँ केही गर्ने सोच बनाइन् । १० वर्षअघि किसान बहुउद्देश्यीय सहकारीबाट १५ हजार रुपैयाँ ऋण लिएर चारवटा बंगुरका पाठा किनेर बंगुरपालन सुरु गरिन् । व्यवसाय बढ्न थालेसँगै आर्थिक समस्यासँग सामना गर्न सहज हुन थाल्यो । चार वर्ष बंगुरपालन गरेपछि उषाले कुखुरापालन सुरु गरिन् । उनको मिहिनेत र लगनशीलता देखेर साना किसानले विश्वास गरेर ऋण लगानी बढायो ।

सहकारीबाट ८० हजार ऋण लिएर कुखुरापालन सुरु गरेकी उनको खोरमा अहिले एक हजार दुई सय कुखुरा छन् । व्यवसाय विस्तार गर्दा सहकारीको ऋण थपेर पाँच लाख पुर्‍याइन् ।

व्यावसायिक कुखुरापालन सुरु गरेपछि अहिले घरखर्च चलाउन सहज भएको उनले बताइन् । छोराछोरीलाई निजी विद्यालय पढाउँछिन् । ‘आम्दानीले सहकारीबाट लिएको ऋणको किस्ता तिर्ने, घरखर्च चलाउनेसँगै बचत पनि हुन थालेको छ,’ उनले भनिन्, ‘पहिलेजस्तो खर्चको समस्या छैन ।’ 

उत्पादित कुखुरा चल्ला दिने डिलरले नै किनिदिने भएकाले बजारको समस्या नरहेको उनी बताउँछिन् । दाना उत्पादन गर्ने कम्पनीमा काम गर्ने उनका श्रीमान् टेकबहादुर फुर्सदमा श्रीमतीलाई सघाउँछन् । परिवारको गुजाराका लागि जीवनका ४० वर्ष भारतमा मजदुरी गरेर बिताएका ससुरा शेरबहादुर वृद्धावस्था लागेसँगै ६ वर्षयता भारत गएका छैनन् । व्यवसाय सुरु गरेपछि आर्थिक हैसियतसँगै जीवनस्तर पनि फेरिएको उषाले बताइन् । ‘किसान सरकारीबाट लिएको कर्जाले मलाई व्यवसायमा धेरै ठूलो सहयोग पुगेको छ,’ उनले भनिन् ।

लम्कीचुहा–९, प्रतापपुरकी अम्मकला शाही घरमा किराना पसल चलाउँछिन् । नौ वर्षअघि किसान सहकारीको स्थानीय महिला समूहमा आबद्ध भएपछि उनी व्यवसायमा लागेकी हुन् । घरवास ऐलानी भएकाले त्यसलाई धितोमा राखेर ऋण लिई केही गर्न सक्ने अवस्था थिएन । धितो र आम्दानी पनि नभएपछि ऋण दिन कसैले पत्याउँदैनथे । समूहमा आबद्ध भएपछि उनले सहकारीबाट विनाधितो ऋण पाउन सकिने थाहा पाइन् । सुरुमा सहकारीबाट २० हजार रुपैयाँ ऋण लिएर

बाटोमै रहेको आफ्नो घरमा थोरै सामान राखेर किराना पसल सुरु गरिन् । नियमित किस्ता तिरेकाले त्यही सहकारीबाट ऋण बढाएर पसलमा सामान पनि थपेको उनी बताउँछिन् ।

टोलछिमेकका स्थानीय उनका ग्राहक हुन् । पसल सुरु गरेपछि सामान्य घरखर्च चलाउन पहिलेभन्दा सजिलो भएको अम्मकलाले बताइन् । ‘गाउँमा धेरै ठूलो व्यापार हुँदैन, नजिकका मान्छे सामान किन्न आउँछन्,’ उनले भनिन्, ‘घरखर्च चलेको छ ।’ उनले अहिले किसान सहकारीबाट तीन लाख रुपैयाँ ऋण थपेर पसलमा सामान थप्नुका साथै कपडाको घुम्ती व्यवसाय सुरु गरेकी छिन् । ६ वर्षअघिसम्म भारतमा मजदुरी गर्ने उनका श्रीमान् अहिले तयारी कपडा गाउँघरमा गएर बेच्ने काम गर्छन् ।

श्रीमान्–श्रीमती व्यवसायमा लागेपछि किसान सहकारीको नियमित किस्ता तिर्ने, घरखर्च, तीन छोराछोरीको पढाइ खर्चसँगै मासिक थोरै रकम स्थानीय समूहमा जम्मा गर्न थालेको उनले बताइन् । 

उषा र अम्मकलाजस्तै किसान बहुउद्देश्यीय सहकारीबाट ऋण लिएर महिला उद्यमी बनेका अरू पनि उदाहरण छन् । लम्कीमा प्रधान कार्यालय रहेको यो सहकारीले समूहमार्फत विनाधितोसमेत ऋण लगानी गर्न थालेपछि उद्यमतिर लागेका महिलाको संख्या ठूलो छ । 

उद्यमशीलतालाई प्राथमिकता दिएर लगानी गरेका छौँ : डम्बरबहादुर शाह महाप्रबन्धक किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, लम्की, कैलाली

०५२ सालमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेशका ६ वटा र लुम्बिनी प्रदेशका एक जिल्लामा गरी ४२ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ । सहकारीका ८० हजार सेयरधनी र तीन सय १८ जना कर्मचारी छन् । वार्षिक करिब ६ अर्बको कारोबार हुन्छ । पाँच अर्ब ७२ करोड रुपैयाँ लगानी र पाँच करोड रुपैयाँ निक्षेप छ । हामीले उद्यमशीलतालाई जोड दिएका छौँ । विशेष गरेर कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर लगानीमा जोड दिएका छौँ । लगानीसँगै तालिम, बिउबिजन तथा मलखादमा सहयोग गरिरहेका छौँ । हाम्रा सेयर सदस्यले सहकारीको सहयोगमा कृषिमा बाख्रापालन, भैँसीपालन, तरकारी खेती, बंगुरपालन, कुखुरापालनजस्ता व्यवसाय गरिरहेका छन् । हामीले किसान ‘कपमार्ट’ चलाइरहेका छौँ । सदस्यका उत्पादन मार्टमार्फत बिक्री गर्छौँ ।

८० हजार सेयर सदस्यमध्ये ३२ हजार ऋणी हुनुहुन्छ । ऋण लिएका सबैजसो केही न केही उद्यमसँग जोडिनुभएको छ । हाम्रो ऋणको आकार कम छ । धेरै ठूलो ऋणलाई प्राथमिकता दिएका छैनौँ । विपन्न वर्गलाई उद्यमसँग जोड्न ऋण लगानी गरिरहेका छौँ । 

सहकारी संस्थाका उच्च पदाधिकारीले संस्थाको सुशासन कायम नराख्दा, जुन क्षेत्रका लागि सहकारी संस्था स्थापना भएको हो त्यो क्षेत्रबाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा त्यसमा व्यक्तिगत स्वार्थ बाझिएकाले केही सीमित सहकारी संस्थाहरू डुबेको, सदस्यहरूको बचत समयमा फिर्ता नगरेको कारण सम्पूर्ण सहकारी संस्था नै अहिले बदनाम हुन पुगेका छन् । संस्थागत सुशासन नभएको कारणले त्यस्तो समस्या आएको हो, तर हाम्रो सहकारीमा त्यस्तो अवस्था छैन । हामीसँग २२ प्रतिशत तरलता मौज्दात छ । हामीले सेयर सदस्यलाई सुविधा दिन प्रविधिलाई पनि आत्मसात् गरेका छौँ । मोबाइल बैंकिङको सुविधा छ । हाम्रो एटिएमले अरू बैंकको एटिएममा पैसा झिक्दा शुल्क नलाग्ने बनाएका छौँ । 

See More On

सुझावित समाचार