६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न थालिएको छ। हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आयोजित कार्यक्रममा ११ अलगअलग डिजाइनका हुलाक टिकटमा टाँचा मारेर उद्घाटन गरिन्। ०१६ पछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको विभागले जनाएको छ।
प्रचलित खरिद कानुनअनुसार जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ गरेको हो। विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएको छ। नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रकियामा सहज हुने विश्वास विभागको छ।
आगामी दिनमा स्वदेशमा टिकट नेपालमै छाप्न सकिने विभागको भनाइ छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बन्ने र आम्दानी पनि हुने विभाग बताउँछ।