संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सुपरिवेक्षण परामर्शदाता छनोट भएको छ । आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन र वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम छनोट भएको छ । यसको नेपाली साझेदार भने टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) र जेड कन्सल्ट रहेका छन् ।
आयोजनाको प्रवद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच बुधबार ठेक्का सम्झौतासमेत भइसकेको छ । निर्माण सुपरिवेक्षण परामर्श सेवाका लागि दुई करोड ३४ लाख युरो, चार लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता (कर र प्रोभिजनल समसहित) भएको हो । परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीनवटा मुद्रामा भुक्तानी हुने व्यवस्था गरिएको छ ।
परामर्श सेवाको अवधि एक सय १७ महिनाको हुनेछ । ठेक्का सम्झौताबमोजिम परामर्शदाताले पहिलो चरणअन्तर्गत डिजाइन पुनरावलोकन तथा बोलपत्रसम्बन्धी कागजात तयारी गर्न २१ महिना छुट्याएको छ । दोस्रो चरणमा आयोजनाको निर्माण कार्यको सुपरिवेक्षण गर्न ७२ महिना राखिएको छ । तेस्रो चरणमा आयोजना सञ्चालन तथा मर्ममत–सम्भारका लागि परामर्श सेवा उपलब्ध गराउन २४ महिना छुट्याइएको छ ।
कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणमा महŒवपूर्ण चरण पार भएको बताए । सरकारले घोषणा गरेको रूपान्तरणकारी आयोजना निर्माणको सुरपरिवेक्षण गर्न परामर्शदाता नियुक्त हुनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
पहिलो चरणअन्तर्गत नौ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणका लागि ठेकेदार छनोट गर्न बोलपत्रसम्बन्धी कागजात तयार गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उनले समयको ख्याल गरी समयमै कार्य सम्पन्न गर्न आग्रह गरे ।
‘केन्द्र सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, प्रभावित जिल्लावासी, सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी)को नमुना परियोजनाका रूपमा अगाडि बढाउन खोजिरहेका छौँ,’ उनले भने ।
विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आगामी जुन (असार)भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ । आयोजनास्थलमा निर्माणपूर्वका तयारीका कार्य भइरहेका छन्, आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिटो निर्माणमा लैजाने गरी आवश्यक काम भइरहेको उनको भनाइ छ ।
कम्पनीका प्रबन्ध सञ्चालक फणीन्द्रराज जोशीले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा परियोजनाको लगानी ढाँचाबारे सम्झौता हुने बताए । विश्व बैंकको अगुवाइमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले एक अर्बदेखि एक अर्ब २० करोड डलरसम्म लगानी गर्ने गरी सम्झौता गरिने उनको भनाइ छ ।