वासविनाको नमुना बस्ती

कालिकोट रास्कोटका तीन वडाका ७३ घर पहिरोपीडितलाई कर्णाली सरकारले एकीकृत नमुना बस्ती बनाइदियो, तर लाभग्राहीले छाडेनन् जोखिमयुक्त थातथलो

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण
वासविनाको नमुना बस्ती

प्रदेश सरकारको सहयोगमा रास्कोट नगरपालिकामा बनाइएका एकीकृत नमुना बस्ती ।

कालिकोटको रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीलो जस्तापाताको एकनासका घरले लोभ्याउँछ । आकर्षक देखिने पोखरीकोट बस्ती कालिकोटको एकीकृत नमुना बस्ती हो । त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने र घुम्ने गर्छन् । बस्ती पुग्ने धेरैको एउटै प्रश्न हुन्छ, किन सुनसान ?

०७८ असोजको पहिरोले जमिन धाँजा परेर बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले रास्कोट नगरपालिका– १, ३ र ७ का पहिरोपीडितका लागि एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । त्रिपालमा पुगेका ७३ परिवारलाई पुनस्र्थापना गर्न तीन वर्षअघि नै बस्ती बन्यो । नमुना बस्ती बनेपछि ७३ घरमध्ये १६ घरमा केही महिनासम्म स्थानीय बासिन्दा बसेका थिए । तर, पछि उनीहरू पुरानै जोखिमयुक्त पुच्छ्रेगाउँकै थातथलोमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । केही पशुचौपायाका गोठ बनेका छन् । 

बस्तीमा बनेका घर बेचबिखन गर्न नपाउने सर्तमा बस्ती स्थानान्तरण भएको हो । घर बने पनि खानेपानी, बिजुली, स्वास्थ्य चौकी र विद्यालय नहुँदा आफूहरू नमुना बस्तीमा जान नसकेको प्रकाश महतराले बताए । नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यानलगायत पूर्वाधार बनेका छैनन् । नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छैन । जसका कारण बस्तीमा मान्छे नबसेका हुन् । 

‘पाँच लाखमा घर बन्छ भने । पछि त आठ लाख लाग्यो,’ महतराले गुनासो गरे, ‘बस्तीका सबै ऋणमा डुबेका छन्, छाना मात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’ घर निर्माणका लागि प्रदेश सरकारले प्रतिपरिवार चार लाख दिएको छ । बाँकी लगानी स्थानीयको हो ।

रास्कोट नगरपालिका मेयर धर्मराज शाहीका अनुसार नमुना बस्तीमा पाँच करोड खर्च भएको छ । ‘पहिरोले त्रिपालमुनि बसिरहेका लागि मुख्य आवश्यकता घर नै हो भनेर घर बनाएर बस्ती बसालेका हौँ,’ उनले भने, ‘अहिले यो बस्तीमा स्वास्थ्य संस्था, विद्यालय र खेतबारी नहुँदा पुरानै थातथलो गएर बसेका छन् ।’ नगरपालिकाले विद्यालय र खानेपानीका लागि चालू आवमा बजेट विनियोजन गरेको उनले बताए । खानेपानी आयोजनाका लागि हुरेन्डेक नेपाल नामक संस्थाले डिपिआर बनाएको छ । ०७८ असोजको बाढीपहिरोले सय घरपरिवार पहिरोले लगेको थियो । 

सुन्दरखाल नमुना बस्ती पनि अधुरै
नरहरिनाथ गाउँपालिका– ४ स्थित सुन्दरखालमा पनि नमुना बस्ती बनिरहेको छ । तर, तीन वर्षमा पनि काम सकिएको छैन । नरहरिनाथ– ४ का वडाध्यक्ष नन्दराम सहकारीका अनुसार नमुना बस्तीमा दुई सय ४० घर बन्नुपर्नेमा एक सय ४३ घर मात्र बनेका छन् । अझै ९७ घर बन्न बाँकी छन् । यहाँ पनि आधारभूत सुविधा खानेपानी, विद्यालय, विद्युुत् र पक्की सडक अभाव छ । यो बस्तीमा तीन–चार घरपरिवार भने बस्न थालेका छन् ।

सुन्दरखाल नमुना बस्तीमा अछामको रामारोशन ताल पुग्ने पाँच किलोमिटर मात्र रहेको सडक पुर्‍याउन सकिए रारादेखि रामारोशनसम्म पर्यटकीय मार्ग बन्ने र नमुना बस्तीलाई होम–स्टेका रूपमा प्रयोग गर्न सकिने स्थानीय रत्नबहादुर सहकारीले बताए । गाउँपालिका अध्यक्ष नगेन्दबहादुर विष्ट भने सुन्दरखाल नमुना बस्तीको आवश्यकता नरहेको दाबी गर्छन् । ‘त्यो बस्तीमा चोरीसिकारी गर्नेहरू आएर बसेका छन् । सुन्दरखाल नमुना बस्ती अछामको रामारोशन क्षेत्रमा पर्छ, त्यो ठाउँ पछि संरक्षण क्षेत्रमातहत जान सक्छ,’ उनले भने । 

सुझावित समाचार