नेपालविरुद्धको दोस्रो एकदिवसीय खेलमा क्यानाडाले दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको हो।
नेपाली तीव्र गतिका बलर चल्न नसकेको फाइदा क्यानाडाले पहिलो पावर प्लेमा लिएको थियो। आरोन जनसन र नभनित धालिवालीले पहिलो विकेटको लागि ९४ रनको साझेदारी गरेपछि क्यानाडा बलिलो स्कोर खडा गर्न सफल भएको हो।
आरोनले ६२ बलमा सर्वाधिक ६५ रन बनाए। १० चौका र दुई छक्का प्रहार गरेका आरोनलाई भीम सार्कीबाट आसिफ शेखले रनआउट गराए।
नभनितले ६० बलमा ४६ रनको योगदान गरे। आठ चौका प्रहार गरेका नभनितलाई आकाश चन्दले आसिफ शेखबाट क्याचआउट गराएका हुन्। आकाशको यो डेब्यु विकेट हो।
तेस्रो नम्बरमा क्रिजमा आएका पर्गत सिंहलाई कप्तान रोहितकुमार पौडेलले ३८ रन बनाउँदा सोमपाल कामीबाट क्याच गराएका थिए। निकोलस किर्टनलाई २० रन बनाउन रोहितले आसिफबाट क्याच गराएका हुन्। रोहितते लगातार यो दुई विकेट लिएपछि क्यानाडाको आक्रामक इनिङ्स सुस्ताएको थियो। निकोलस र पर्गतले ५३ रनको दोस्रो ठूलो साझेदारी गरे।
श्रेयस मोभा ४० रन बनाएर आउट भए। कुशल मल्लले कप्तान साद विन जफरलाई १ रनमा आउट गरे। पवन सरार्फले साहिद अहमादजाईलाई १३ रनमा आउट गरे। तर, आठौँ विकेटका लागि श्रेयस र उदय भगवानले बलियो साझेदारी गरेका थिए। उदयले २० रन बनाए।
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए। सूर्य तामाङसँगै डेब्यु खेलाडी आकाश र पवनले समान एक विकेट लिएका छन्। तीव्र गतिका बल सोमपालले एक विकेट मात्रै लिँदा रिजन ढकाल विकेटविहीन रहे।
दोस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। आकाश चन्दले डेब्यु गरेको खेलमा अनिल शाह र देव खनालले पुनरागमन गरेका छन्। कुशल भुर्तेल आज बेन्चमा छन्। डेब्युसँगै रिजन ढकाल र सूर्य तामाङले दोस्रो खेलमा पनि अवसर पाएका छन्।
क्यानाडाका कप्तान साद बिन जफर पहिलो खेल जित्ने लक्ष्यमा छन्। क्यानडाविरुद्धको पहिलो खेल नेपालले ७ रनले जितेको थियो।
आज पनि जित निकाल्दै नेपाल एक खेलअघि नै शृंखला जित्ने दाउमा छ। क्यानाडा भने नेपाललाई रोक्ने लक्ष्यमा छ।