एनआरटी र एपिएफलाई च्याम्पियन बन्ने अवसर

मकवानपुर गोल्डकपको फाइनलमा पहिलोपटक एनआरटी र एपिएफ आज भिड्दै

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण
एनआरटी र एपिएफलाई च्याम्पियन बन्ने अवसर

प्रतियोगिताको फाइनलअघि दुवै टोलीका कप्तान र प्रशिक्षकहरू ट्रफीका साथमा ।

छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा शनिबार नयाँ विजेता निस्कने पक्का छ । उपाधि भिडन्तमा एनआरटी र एपिएफ पुगेका छन् । दुवै टोलीले अहिलेसम्म उपाधि हात पारेका छैनन् । पूर्वविजेताहरू फाइनलअगाडि नै बाहिरिएका थिए । साथै, साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले प्रतियोगितामा सहभागिता नजनाउँदा यसपटकको संस्करणमा नयाँ विजेता पाउने निश्चित भएको हो । एपिएफले आयोजक बागमती युवा क्लब सर्लाहीलाई ४–० ले निराश पार्दै अन्तिम दुई स्थान पक्का गरेको थियो ।

एनआरटीले धनकुटाको राजारानीलाई सडन डेथमा स्तब्ध पार्दै फाइनल स्थान पक्का गरेको हो । दुवै टोली पहिलोपटक अन्तिम दुईमा पुगेका हुन् । ०६४ मा भएको पहिलो संस्करणको उपाधि थ्री स्टार थियो । प्रतियोगिता नियमित हुन नसक्दा ०७६ बाट गोल्डकप आयोजना भयो । १३ वर्षपछि गोल्डकप हुँदा मकवानपुर ११ ले उपाधि जितेको थियो । ०७७ र ०७८ मा त्रिभुवन आर्मी क्लबले ट्रफी उचाल्यो । मनाङले पछिल्लो संस्करणको फाइनलमा हिमालयन शेर्पालाई १–० ले हराएको थियो ।

यसपटक उपाधि दाबेदारमध्ये मानेका दुई टोली आर्मी र थ्री स्टार आफूले सामना गरेको पहिलो खेलमै स्तब्ध भएका थिए । गत साता पोखरामा आर्मीले २३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टारलाई हराएको थियो । तीन दिनको अन्तरमा मनाङ र थ्री स्टार मकवानपुर गोल्डकपबाट बाहिरिएका थिए । 

 उपाधि जित्ने दुवै टोलीको दाबी
वास्तवमा मकवानपुर गोल्डकपमा एनआरटी र एपिएफलाई उपाधि दाबेदारका रूपमा हेरिएको थिएन । तर, दुवैले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा एक–अर्काको सामना गर्दै छन् । एपिएफ र एनआरटीका प्रशिक्षकले पहिलोपटक मकवानपुर गोल्डकपमा टोलीको नाम लेखाउने योजना भएको बताएका छन् । एनआरटी यस सिजनमा दोस्रो उपाधि जित्ने अभियानमा छ । १३ माघमा एनआरटीले एनआरएनए इलाम गोल्डकपको उपाधि हात पारेको थियो । अन्तिम दुईको यात्रामा एनआरटीले दुई खेलमा टाइब्रेकरमा जित निकालेको थियो । 

एनआरटीका प्रशिक्षक जीवन सिंकेमानले खेलाडीप्रति विश्वास गर्दै उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । यद्यपि, फाइनलमा पुगेको एपिएफ बलियो रहेको उनी मान्छन् । ‘एपिएफले गोल्डकपमा राम्रो खेलेको छ, यद्यपि एनआरटी कमजोर छैन, हामीसँग उत्कृष्ट खेलाडी छन्,’ सिंकेमानले भने । एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले एनआरटीलाई फाइनलमा रोक्न सबै प्रयास गर्ने बताए । उनी एक महिनाअघि मात्र एपिएफसँग आबद्ध भएका थिए । प्रशिक्षकमा रूपमा उनको दोस्रो फाइनल खेल हो । 

यसअघि मकवानपुर गोल्डकपको पाँचौँ संस्करणको फाइनलमा उनले हिमालयनको प्रशिक्षण गरेका थिए । ‘हामी उच्च मनोबलका साथ मैदानमा उत्रिनेछौँ, सम्भवतः यहाँबाट उपाधिसाथ नै फर्कनेछौँ,’ श्रेष्ठले भने, ‘हामीले सुरुवातदेखि नै उच्च प्रदर्शन गरेका छौँ ।’ 

 दुवै टोलीको फाइनल यात्रा
एनआरटीले प्रिक्वार्टरफाइनलमा हिमालयनलाई ३–० हराएको थियो । एनआरटीले क्वार्टरफाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४–३ को जित निकालेको थियो । सेमिफाइनलमा एनआरटीले सडन डेथमा धनकुटाको राजारानी क्लबलाई हराएको थियो । एपिएफले पहिलो खेलमा मच्छिन्द्रलाई टाइब्रेकरमा ४–३ ले स्तब्ध पारेको थियो । एपिएफले क्वार्टरफाइनलमा पूर्वविजेता थ्री स्टारलाई ४–० निराश बनायो । फाइनल प्रवेशका क्रममा बागमती क्लबलाई ४–० ले हराउँदै एपिएफले उपाधि भिडन्तमा एनआरटीसँगको भेट पक्का गरेको हो । 

 विजेताले १५ लाख पाउने
गत संस्करणको तुलनामा यसपटक विजेता धनराशि वृद्धि भएको छ । विजेताले १५ लाख रुपैयाँ हात पार्नेछ । उपविजेताले १० लाख जित्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । एनआरटीका कप्तान अशोक थापा र एपिएफका कप्तान मणि लामाले उपाधि आफूहरूले नै जित्ने दाबी गरेका छन् । उनीहरूले राम्रो खेलेकै कारण फाइनलसम्म पुगेको जनाए । 

सुझावित समाचार