सिउरी न्यादीको सेयर निष्कासकमा एनएमबि क्यापिटल

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा सिउरी न्यादी पावरका कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईं तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका हुन् । 

अधिकृत तथा जारी पुँजी ६ अर्ब १९ करोड ६० लाख रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको ४९ प्रतिशत अर्थात् तीन अर्ब तीन करोड ६० लाख रुपैयाँबराबरको प्रतिअंकित मूल्य एक सय रुपैयाँ दरका सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणमा तोकिएअनुरूप जारी गर्ने कम्पनीले जनाएको छ । 

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने कार्यकारी अध्यक्ष गुरागाईंले बताए । ४०.२७ मेगावाटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको जनाइएको छ ।

सुझावित समाचार