३ प्रश्न

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

बिमा क्षेत्रमा सात खर्ब हाराहारीमा लगानीयोग्य पुँजी रहेछ । तर, अधिकांश लगानी बैंकका मुद्दती निक्षेपमा रहेछन् । अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउन किन सकेका छैनन् ?
पहिला नियामक निकाय नेपाल बिमा प्राधिकरण (साबिक बिमा समिति)ले नै बिमा कम्पनीहरूलाई लगानी गर्नका लागि धेरै क्षेत्र तोकेको थिएन । त्यसमाथि लगानी गर्न सकिने कृषि, ऊर्जा, पर्यटनजस्ता क्षेत्रहरू आफैँ संस्थागत रूपमा विकसित भएका थिएनन् । ती क्षेत्रमा नियमन पनि फितलो देखिन्थ्यो । त्यो अवस्थामा हाम्रो लगानी जोखिममा पर्ने सम्भावना उच्च थियो । त्यसमाथि हामीले निश्चित अवधिपछि बिमितलाई बोनससहित पैसा फिर्ता दिनुपर्छ । बिमायोग्य नोक्सानी भएमा दाबी पनि दिनुपर्छ । असुरक्षित ठाउँमा लगानी गर्दा दाबी–भुक्तानी दिन नसक्ने अवस्था आउने हुन्छ । त्यसैले, विगतमा लगानी विस्तार गर्न सकिएन ।

अहिले नियामक निकाय प्राधिकरणले घरजग्गा, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न बाटो खुला गरेको छ । अब लगानी विस्तार गर्न बिमा कम्पनीहरूले के गर्दै छन् ? 
हो, अहिले नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई लगानी गर्न कृषि, पर्यटन, ऊर्जा, पब्लिक कम्पनीको साधारण सेयर, संस्थापक सेयर, इन्भेस्टमेन्ट कम्पनी, भेन्चर क्यापिटललगायतको क्षेत्रमा लगानी खुला गरेको छ । बिमा कम्पनीहरूले पूर्वाधारसहितका क्षेत्रमा लगानी बढाउन लागेको अवस्था छ । पछिल्लो दुई–तीन वर्षमा पूर्वाधार, इन्भेस्टमेन्ट कम्पनी, पब्लिक कम्पनीको सेयरजस्ता क्षेत्रमा बिमा कम्पनीहरूको लगानी बढ्दै गएको छ । 

त्यस्ता क्षेत्रमा लगानी बढ्यो भने बिमित र सेयरधनीलाई कस्तो फाइदा हुन्छ ? 
अहिले बिमा कम्पनीहरूको आम्दानीको ठूलो स्रोत निक्षेपको ब्याजदर पनि एक हो । अब उत्पादनशील क्षेत्रमा लगानी बढाउँदा पक्कै पनि ब्याज आम्दानीभन्दा धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यस अवस्थामा सेयरधनील पाउने लाभांश र बिमितले पाउने बोनसदर पनि बढ्छ । कम्पनी पनि बलियो हुँदै जान्छ ।

सुझावित समाचार