जिम्बावे उपनिर्वाचन : सत्तारुढ दललाई अत्यधिक बहुमत हासिल

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

जिम्बावेमा आइतबारको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ। नयाँ परिणामपछि सत्तारुढ जेएएनयु–पिएफले अब संसदमा दुईतिहाइ बहुमत हासिल गरेको छ। 

निर्वाचन परिणामपछि सत्तारुढ दलले संविधानमा संशोधन गर्न र राष्ट्रपति एमर्सन मनांगाग्वाको नियन्त्रणलाई लम्ब्याउन सक्छ। निर्वाचनमा जेएएनयु–पिएफले क्लिन स्विप हासिल गरेको छ। ती निर्वाचन क्षेत्रमा विपक्षी पार्टीका ६ जना सांसद बर्खास्त भएका थिए। 

जिम्बावे निर्वाचन आयोगका अध्यक्ष रोडनी किवाले भने, ‘निर्वाचन राम्रोसँग भयो, जेएएनयु–फिएफले सबै ६ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ, म त्यो स्थिति पुष्टि गर्दछु।’

राजनीतिक संकट सुरु भएपछि संसदीय उपनिर्वाचन भएको यो दोस्रोपटक हो। यसबाट विपक्षी लडखडाएको छ र अब ८१ वर्षीय राष्ट्रपति मनांगाग्वाको नियन्त्रण मजबुत हुन सक्छ। 

जेएएनयु–फिएफले अब राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउन र मनांग्वालाई पुन निर्वाचनमा उम्मेदवारी दिन आफ्नो भारी बहुमतको अत्यधिक प्रयोग गर्न सक्ने चेतावनी विश्लेषक र विपक्षी कार्यकर्ताहरूले दिएका छन्। 

विपक्षी सिटिजन्स कोलिसन फर चेन्ज (सिसिसी) का स्वघोषित अन्तरिम महासचिव सेंगेजो तसबांगुले पार्टीका ६ सांसदलाई फिर्ता बोलाउने आदेश दिएपछि ती सिट खाली भएका हुन्। विपक्षी समर्थकहरूले तसबांगुको उक्त कदममाथि तीव्र आक्रोश प्रकट गर्दै उनलाई जेएएनयु–पिएफको कठपुतली भएको आरोप लगाएका छन्। (रासस/एएफपी)

सुझावित समाचार