भारतले नेपाललाई दिने अनुदान एक अर्ब भारुले बढायो

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण
भारतले नेपाललाई दिने अनुदान एक अर्ब भारुले बढायो

भारतीय वित्तमन्त्री निर्मला सीतारमण

भारतले नेपाललाई दिने अनुदान एक अर्ब भारतीय रुपैयाँ वृद्धि गरेको छ । बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सन् २०२४/२५ को वार्षिक बजेट सार्वजनिक गर्दै नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी छिन् । चार सय ७६ खर्बबराबरको अन्तरिम बजेट ल्याएको भारत सरकारले घाटाको बजेट कार्यान्वयनका लागि ३०.८० लाख करोड अर्थात् ३०८ खर्ब भारु राजस्व, भन्सार तथा विभिन्न ऋणपत्रमार्फत उठाउने जनाएको छ । 

भारतमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको सरकारको यो दोस्रो कार्यकालको अन्तिम बजेट हो । केन्द्रीय वित्तमन्त्रीले चार महिनाको सरकारी खर्चका लागि बजेट प्रस्तुत गर्ने र बाँकी आठ महिनाको बजेट जुलाईपछि बन्ने नयाँ सरकारले ल्याउनेछ । त्यसैले यसलाई अन्तरिम बजेट भनिएको छ । 

भारतले विदेशी नीति कार्यान्वयनका लागि केही देशहरूलाई ऋण तथा अनुदान उपलब्ध गराउँदै आइरहेको छ । नेपाललाई सन् ०२३/२४ मा दिने भनिएको अनुदान ६ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । सुरुवाती बजेटमा पाँच अर्ब ५० करोड अनुदान दिने घोषणा गरे पनि बढाएको थियो । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्याएको उल्लेख छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । 

यो नेपालको कुल वार्षिक बजेटको ०.६३ प्रतिशत मात्रै हो । पुँजीगततर्फ छुट्याएको बजेटको दाँजोमा ३.७० प्रतिशत हो । आर्थिक वर्ष ०२२/२३ मा भारतबाट नेपालले चार अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो । भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ । आर्थिक वर्ष ०२४/२५ का लागि भुटानलाई दिने सहायता भने घटेको छ । आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारु पाउनेछ । यसमध्ये नौ अर्ब ८९ करोड ऋण हो । गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो ।   

माल्दिभ्सले पाउने अनुदान पनि बढेको छ । भारतले आर्थिक वर्ष ०२४/२५ का लागि माल्दिभ्सलाई ६ अर्ब भारु अनुदान दिनेछ । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । सन् ०२३/२४ मा ४ अर्ब विनियोजन भएको थियो । भारतले नेपाल, भुटान र माल्दिभ्सबाहेक अफगानिस्तान, बंगलादेश, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमारसहित मुलुकलाई अनुदान दिँदै आइरहेको छ । भारतले कर संरचनामा भने खासै फेरबदल गरेको छैन । 

सुझावित समाचार