ललितानिवास प्रकरण : १० दिनमा ३७ जनाको बहस सकियो, आज पनि गच्छदारका कानुन व्यवसायीले पैरवी गर्ने

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको विषयमा लगभग आधा प्रतिवादीहरूको बहस सकिएको छ । विशेष अदालतले १० दिनदेखि यो मुद्दा हेर्दाहेर्दैमा राखी सुनुवाइ गरिरहेको छ । अझै दुई साता यो मुद्दामा बहस हुने अनुमान विशेष प्रशासनको छ । 

सरकारी जग्गा व्यक्तिको नाममा कायम गरी भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि ६५ जग्गाधनीसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसमाथि २ माघबाट विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापको इजलासमा सुनुवाइ भइरहेको छ ।

पूर्वमन्त्रीहरू, उच्चपदस्थ सरकारी कर्मचारी तथा बिचौलियासमेतलाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ । हालसम्म आधा प्रतिवादीका कानुन व्यवसायीले बहस गरिसकेका छन् । केही हाइप्रोफाइल व्यक्तिहरूका भने आधा दर्जनभन्दा बढी कानुन व्यवसायी रहेका कारण पनि सुनुवाइ लम्बिएको हो । 

विशेषले अभियोगपत्रमा रहेको प्रतिवादीको क्रमानुसार बहस गर्न भने पनि विभिन्न कारणले सोअनुसार बहस हुन सकेको छैन । एउटै कानुन व्यवसायीले एकभन्दा बढी प्रतिवादीका तर्फबाट बहस गरिरहेका छन् भने कतिपय प्रतिवादीले आधा दर्जनभन्दा बढी वकिल राखेका छन् । विशेष अदालतका एक अधिकृत भन्छन्, ‘हामीमध्ये कतिले बहस गर्नुभयो, कतिका तर्फबाट बहस सकियो भनेर तत्काल गणना गरेका छैनौँ । आधा जति प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।’

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातका कानुन व्यवसायीले बहस गरेका थिए भने सोमबार पूर्वमन्त्री विजयकुमार गच्छदारका वकिलले उनका तर्फबाट पैरवी गरे । अन्तिममा अधिवक्ता ललितकुमार बस्नेतले बहस गर्दैगर्दा समय अपुग भएपछि मंगलबार पनि उनैले गच्छदारका तर्फबाट बहस गर्ने भएका छन् । उनले मुद्दा चलाउन अन्तर्राष्ट्रिय अभ्यासलगायतका जिकिर गरेका थिए । 

सुझावित समाचार