नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिएको बागमती प्रदेशको मकवानपुर जिल्ला प्रशासन कार्यालयले तामाङ भाषामा बडापत्रको सुरुवात गरेको छ।
तामाङ जातिको बाहुल्यता रहेको मकवानपुरमा पहिलोपटक तामाङ भाषामा नागरिक बडापत्र राखिएको हो। जिल्ला प्रशासन कार्यालयले माघ १२ गते शुक्रबारबाट तामाङ भाषामा नागरिक बडापत्र सुरु गरेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले जानकारी दिए।
तामाङ जातिको बाहुल्यता रहेको मकवानपुरका विभिन्न पालिकाबाट कामको सिलसिलामा आउने सेवाग्राहीको सहजताका लागि तामाङ भाषामा नागरिक बडापत्र सुरु गरिएको प्रमुख सेढाईको भनाइ छ।
बडापत्रमा कार्यालयको विभिन्न शाखाले उपलब्ध गराउने सेवा र ती सेवा प्राप्त गर्न आवश्यक कागजात र समयावधिको जानकारी उल्लेख गरिएको छ। यसैगरी, बडापत्रलाई अडियोका माध्यमबाट समेत कार्यालयको प्रत्येक कोठामा सुन्न सकिने प्रमुख जिल्ला अधिकारी सेढाईले बताए।
यसअघि, बागमती प्रदेश सभाले ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पास गरेसँगै नेपाल भाषा र तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाएका थिए।