रेसुंगाको पाँचौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि महेन्द्र माविलाई

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

गुल्मीको चिदीचौर खेलमैदानमा १२ देखि १४ माघसम्म सञ्चालन भएको रेसुंगा नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ सिल्ड महेन्द्र नमुना माविले जितेको छ।

प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र आठ कांस्य गरेर २० पदकसहित महेन्द्र मावि प्रथम बनेको हो। रेसुंगा नगरपालिकाको पहिलो राष्ट्रपति रनिङ सिल्ड पनि महेन्द्र माविले नै जितेको थियो। दोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ जित्ने सिद्धबाबा माविलाई महेन्द्रले ब्रेक गरेको छ।

लगातार तीनपटक उपाधि कब्जा गरेको सिद्धबाबा आठ स्वर्ण, १० रजत र १० कांस्य गरी २८ पदकसहित दोस्रोमा सीमित भएको छ। आठ स्वर्ण, चार रजत र पाँच कांस्य गरेर १७ पदकसहित रेसुंगा मावि तृतीय भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी पीताम्बर पन्थीले जानकारी दिए।

प्रतियोगितामा प्रथम भएको महेन्द्र माविले २० हजार रुपैयाँ, दोस्रो सिद्धबाबा माविले १५ हजार रुपैयाँ र तेस्रो रेसुंगा माविले १२ हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई नगरप्रमुख खिलध्वज पन्थीले सम्मान गरेका थिए। प्रतियोगितामा नगरपालिकाभित्रका १७ मध्ये विभिन्न १४ विद्यालयको सहभागिता रहेको थियो।

सुझावित समाचार