प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए ।
निशस्त्रीकरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद एक मात्र विकल्प भएकोमा जोड दिए ।
‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरूका लागि उदाहरण बनेको छ,’ उनले भने, ‘अहिले विश्वका कैयन क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर, हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका खेल्दै आएकोसमेत स्मरण गराए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरूको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाबारे समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरूमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।
‘विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिका प्रशंसनीय छ,’ उनले भने, ‘हामी संयुक्त राष्ट्रसंघका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
संयुक्त राष्ट्रसंघको प्रतिनिधिमण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताइन् । ‘परमाणु हतियारले सुसज्जित छिमेकीहरूको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,’ उनले भनिन्, ‘नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।’
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्राे योगदानकर्ता राष्ट्रका रूपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन् । भेटवार्तामा संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।