अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधार तथा परियोजना छनोट तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् । शुक्रबार लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । सरकारले आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्दै छ । अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, लगानी बोर्डलगायतका सरकारी निकाय अहिले लगानी सम्मेलनको तयारीमा जुटेका छन् । सोही सन्दर्भमा निर्देशक समितिका संयोजकसमेत रहेका मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।
उनले लगानी सम्मेलनमा विदेशी लगानीकर्ता, गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको बताएका छन् । सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न पनि निजी क्षेत्रलाई आह्वान गरेका छन् । सम्मेलनमा निजी क्षेत्रले आयोजकसरह नै भूमिका पनि निर्वाह गर्नुपर्ने उनले बताए । आगामी लगानी सम्मेलन सरकारले निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यमा गर्न लागेको हो ।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए । लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ ।
साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयको आर्थिक पूर्वाधार महाशाखाको सचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ । यी सबै समिति र कार्यदलहरूले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् । शुक्रबार सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता संगठनका अध्यक्षहरूको सहभागिता थियो ।