रियल म्याड्रिड कोपा डेल रेबाट बाहिर, एथ्लेटिकोको सानदार जित

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

अतिरिक्त ३० मिनेटभित्र दुई गोल थपेपछि एथ्लेटिको म्याड्रिडले रियल म्याड्रिडमाथि सानदार जित हासिल गरेको छ । जितसँगै एथ्लेटिको कोपा  डेल रेको प्रि–क्वार्टरमा प्रवेश गरेको छ भने रियल बाहिरिएको छ । 

निर्धारित ९० मिनेटभित्र दुई–दुई गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ अघि बढेको थियो । अग्रता लिने, तर जोगाउन नसक्ने अवस्था अन्त्य गर्दै एथ्लेटिकोले दुई गोल थप्दै खेल चारका विरुद्ध दुई गोलअन्तरले आफ्नो पक्षमा पार्याे । 

एथ्लेटिकोका सामुएल लिनोले ३८औँ मिनेटमा खेलमा अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अतिरिक्त समयमा रियलका लागि जोसेलुले बराबरी गोल गरे । दोस्रो हाफको ५७औँ मिनेटमा मोराटाले पुनः एथ्लेटिकोलाई अग्रता दिलाए । तर, खेल सकिन आठ मिनेट बाँकी हुँदा पुनः जोलेसुले बराबरी गोल गरे । 

थपिएको समयमा भने एन्टोनी ग्रिजमन र रोड्रिगो रिक्वेल्मीले सानदार एक–एक गोल गर्दै टिमलाई प्रि–क्वार्टरफाइनलमा पुर्याए । ग्रिजमनले एक सयौँ र रिक्वेल्मी एक सय १९ औँ मिनेटमा गोल गरेका थिए । 

गएराति नै बार्सिलोनाले युनियनिस्टाज सालामांकालाई पराजित गरेसँगै प्रि–क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ । प्रतियोगितामा बार्सा, एथ्लेटिको म्याड्रिड, एथ्लेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, सेभिया र रियल सोसियडाडले अन्तिम आठमा स्थान बनाएका छन् ।

सुझावित समाचार