जोकोभिचको सहज जित

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

साबिक विजेता नोभाक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आइतबार मेलबर्न पार्कमा पहिलो चरणको पुरुष एकलतर्फ सर्बियन स्टार जोकोभिचले क्रोएसियाका डिनो प्रिजमिकलाई ३–१ को सेटमा पराजित गरेका हुन् । योसँगै उनले अस्ट्रेलियन ओपनमा लगातार २९ खेल जितेका छन् ।

चार घन्टा चलेको खेलको पहिलो सेट जोकोभिचले ६–२ जिते । दोस्रो सेट प्रतिस्पर्धात्मक बन्यो भने १८ वर्षीय खेलाडीसँग ६–७ (५–७) ले पराजित भए । त्यसपछिका खेलमा सानदार प्रदर्शन गर्दै उनी ६–३ र ६–४ ले जित निकाल्न सफल भए । वरीयताको १७८औँ खेलाडीसँग खेलपछि जोकोभिचले अनुभवको कमी रहेको प्रतिक्रिया दिए । डिनोले अझै मिहिनेत गर्नुपर्ने उनको भनाइ थियो । ‘धेरै दबाब थियो, तर आफ्नो खेल देखाएँ,’ जोकोभिचले भने । जोकोभिचले दोस्रो चरणमा एलेक्स पोरिन र मार्क पोल्मान्सको विजेतासँग खेल्नेछन् । 

साबालेन्काको एकपक्षीय जित
महिलातर्फको खेलमा बेलारुसकी आर्यना साबालेन्काले एकपक्षीय जित निकालेकी छिन् । साबालेन्काले जर्मनीकी १८ वर्षीया इला सेइडेललाई २–० को सोझो सेटमा पराजित गरेकी हुन् । ५३ मिनेट चलेको खेलमा साबालेन्काले ६–० र ६–१ ले खेल आफ्नो पक्षमा पारिन् । ‘खेल निकै भिन्न रह्यो, तर खुसी छु,’ २८ वर्षीया साबालेन्काले भनिन् । साबालेन्काले दोस्रो चरणमा चेक रिपब्लिकी ब्रेन्डा फ्रुभिर्टोभाको सामना गर्नेछिन् । फ्रुभिर्टोभा रोमिनियाकी एना बोग्डनलाई २–६, ६–३ र ६–४ ले स्तब्ध बनाउँदै दोस्रो चरणमा प्रवेश गरेकी हुन् । 

See More On

सुझावित समाचार