कमला कार्की स्मृति प्रतिष्ठानले नवौँ स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्वहरू, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
प्रतिष्ठानले शुक्रबार काठमाडौंको नैकापमा आयोजित कमला कार्कीको स्मृतिमा राष्ट्रलाई विभिन्न कोणबाट योगदान पुर्याएका राष्ट्रिय खेलाडी, पत्रकार, कलाकार, चन्द्रागिरि नगरपालिका क्षेत्रको सामाजिक संस्था र यसै नगरपालिकाको वडा नं १४ र १५ का जेष्ठ महिला नागरिकलाई सम्मान गरेको हो।
पूर्वमन्त्री तथा भद्रकुमारी आश्रमकी सञ्चालिका भद्रकुमारी घलेकाे हातबाट सम्मान-पत्र प्रदान गरिएकाे थियाे। जसअन्तर्गत प्रतिष्ठानले अन्नपूर्ण पोस्टकी वरिष्ठ संवाददाता ममता थापा, साफ-२०२३ काे कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता अञ्जना महर्जन, पूर्वमिस नेपाल २०२० कि नम्रता श्रेष्ठ, तीनथाना बाजँ खल संस्था एवं ज्येष्ठ महिलाहरू क्रमशः चन्द्रागिरि–१४ की धनमाया महर्जन र वडा नं १५ की भगवती खत्रीलाई सम्मान गरिएको हो।
सम्मानित सबैलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको छ। कार्यक्रममा आमाको महिमा झल्कने कविता, गीतलगायतका रचनाहरू प्रस्तुत गरिएको थियो।