नेपाल राष्ट्र बैंकले दिगो विकास र वातावरणमैत्री क्षेत्रमा (ग्रिन फाइनान्स) बैंक तथा वित्तीय संस्थाको लगानी यकिन गर्न वर्गीकरणको मस्यौदा तयार गरेको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाले गरेको लगानीमा कति हिस्सा ग्रिन फाइनान्सअन्तर्गत रहेको पहिचान गर्ने उद्देश्यले नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी (वर्गीकरण) ल्याउन खोजिएको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले जानकारी दिए ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न हरित बन्ड निष्कासन गर्ने, जलवायु जोखिम रिपोर्टिङ गर्ने, पुँजी आवश्यकता पहिचान गर्नेलगायतका विषयलाई समावेश गरी ग्रिन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा गरिने’ घोषणा गरेको थियो । यो वर्गीकरणको उद्देश्य नेपालमा भएका हरित क्रियाकलापलाई परिभाषित र वर्गीकरण गर्ने हो ।
उनले भने, ‘हरित अर्थतन्त्रमा रूपान्तरण हुनुपर्ने र दिगो विकासको लक्ष्य हासिल गर्ने मुलुकको योजनालाई साकार पार्न हाम्रो बैंक तथा वित्तीय संस्थालाई ग्रिन फाइनान्समा प्रवेश गराउनैपर्ने आवश्यकता महसुस भएर यो ट्याक्सोनोमी ल्याएका हौँ । अहिले यो मस्यौदाका रूपमा छलफलका लागि सार्वजनिक गरेका हौँ । दुई महिनापछि हामी पूर्ण रूपमा कार्यान्वयनमा जानेछौँ ।’भविष्यमा ग्रिन फाइनान्समा जाने परियोजना तथा उद्योगलाई सहुलियत वा प्रोत्साहनको कार्यक्रम ल्याउने ध्येयसहित वर्गीकरण गर्न खोजिएको उनको भनाइ छ ।
देशको जलवायु र वातावरणसम्बन्धी लक्ष्यलाई हासिल गर्न अपर्याप्त आर्थिक स्रोतको आवश्यकता छ । हामीले अन्तर्राष्ट्रिय समुदायमा गरेको प्रतिबद्धताका आधारमा नेपाललाई स्रोत परिपूर्ति गर्न करिब ७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान छ । त्यस्तै, सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नैपर्ने चुनौती छ ।
सार्वजनिक क्षेत्रले मात्र जलवायुका लागि अनुमानित वित्तीय आवश्यकता पूरा गर्न नसक्ने हुँदा यसमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रले आफ्ना प्राविधिक सीपहरू अभिवृद्धि गरी वित्तीय स्रोतको खाडललाई परिपूर्ति गर्न उनीहरूको हरित लगानीलाई व्यवस्थित गर्दै लैजानुपर्ने हुन्छ ।
ग्रिन फाइनान्स नेपालको वित्तीय क्षेत्र प्रवद्र्धनको प्रारम्भिक चरणमा रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, पुँजी बजार र बिमा कम्पनीहरूले हरियालीतर्फ रूपान्तरण गर्न विभिन्न पहल गरेका छन् । नेपालको वित्तीय प्रणालीमा मुख्यतया बैंकहरूको प्रभुत्व छ । कृषि, उद्योगजस्ता क्षेत्रमा लगानी गरेको उनीहरूको अधिकांश सम्पत्ति निर्माण, जलविद्युत् र घरजग्गामा छ ।
पछिल्लो समयका आधारमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जालाई १८ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ । त्यस्तै, केन्द्रीय बैंकले कृषि, ऊर्जा, पर्यटन र साना, लघु, घरेलु र मझौला उद्योगमा केही प्रतिशत अनिवार्य लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । यद्यपि, ग्रिन फाइनान्समा जाने कर्जा, लगानी र अनुगमनको स्पष्ट व्यवस्था छैन । यसका लागि यो ट्याक्सोनोमीको मस्यौदा तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ ।