राष्ट्रिय सभामा जे–जस्ता र जे–जसरी उम्मेदवारी परे, त्यसलाई कसरी हेर्नुभएको छ ?
नेपाली राजनीतिमा जे–जस्ता चलन चल्दै आएका थिए, यसपालिको राष्ट्रिय सभा निर्वाचनमा पनि दलहरूले तिनैलाई निरन्तरता दिएको देखियो । उम्मेदवारी दिने सबैलाई त म चिन्दिनँ । तर, कतिपय नाम हेर्दा माओवादीबाट सिफारिस भएका केही उम्मेदवार विगतको द्वन्द्वकालमा अंगभंग भएका, दुःख पाएका र नयाँ पनि देखिन्छन् । एमाले र कांग्रेसबाट आएका पनि कतिपय नयाँ र संघर्षले खारिएकै देखिन्छन् । जहाँसम्म राष्ट्रिय सभामा कांग्रेसका कृष्ण सिटौलाको उम्मेदवारीको प्रश्न छ, त्यो पनि हिजोको द्वन्द्वकालमा उनले खेलेको भूमिकाका कारण गलत हो जस्तो लाग्दैन । निर्वाचनमा पराजितलाई उम्मेदवार बनाउन हुन्छ कि हुँदैन भन्ने विषयमा भने अलग्गै बहस हुन सक्छ ।
दलीय भागबन्डाबाट हुने प्रतिनिधित्वले राष्ट्रिय सभाको गरिमालाई जोगाउन सक्ला त ?
भागबन्डाले राष्ट्रिय सभाको गरिमा जोगाउने वा घटाउने होइन । दलहरूले कस्ता उम्मेदवार छाने, राष्ट्रिय सभामा कस्ता उम्मेदवार पुगे, त्यसले चाहिँ राष्ट्रिय सभाको गरिमा घटाउने वा बढाउने हुन सक्छ । अहिले दलहरूले दिएका उम्मेदवारीबाट सामाजिक जीवनमा योगदान दिएका र राजनीतिमा पनि मत राख्न सक्ने मान्छे परे कि परेनन् ? यो मुख्य प्रश्न हो । अहिलेको उम्मेदवारी हेर्दा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुन भने सकेको देखिन्न ।
राजनीतिमा भागबन्डाको संस्कृति कति जरुरी हुन्छ ?
हाम्रो संविधानले परिकल्पना गरेको निर्वाचन प्रणालीले सजिलै एकल बहुमत आउन सक्ने देखिन्न । त्यसले गर्दा राजनीतिमा गठबन्धन गरेर जानुपर्ने अवस्था हुन सक्छ । यस्तोमा दलबीच विभिन्न पद र क्षेत्रमा भागबन्डा हुन सक्छ । यो अन्यथा होइन ।