नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बाझिने गरी आफूनिकट व्यक्तिलाई महाप्रबन्धक नियुक्त गरेको भन्दै एक प्रतिस्पर्धीले आरोप लगाएका छन् ।
क्यानले गत २३ पुसमा उत्सव ढुंगानालाई क्यानको जिएम नियुक्त गरेको थियो । त्यसअघि क्यानले ७ मंसिरमा जिएम नियुक्तिका लागि निवेदन माग गरेको थियो । त्यसक्रममा सर्टलिस्टमा परेका एक प्रतिस्पर्धी नवराज कोइरालाले आज पत्रकार सम्मेलन गर्दै सचिव खड्काले स्वार्थ बाझिने गरी ढुंगानालाई नियुक्त गरेको आरोप लगाएका हुन् ।
कोइरालाले खड्का र ढुंगाना केहीअघि स्थापना गरिएको ‘बलियो नेपाल’ नाम गरेको संस्थाको संस्थापक रहेको र दुवैले सँगै रहेर विगतमा काम गरेका कारण अहिले ढुंगानालाई नै नियुक्त गर्दा स्वार्थ बाझिएको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा कोइरालाले ७२ घन्टाभित्र क्यानले निर्णय नसच्याए सर्वोच्च अदालत जाने बताए ।
