उपमेयरकै नेतृत्वमा कटहरिया नगरपालिकामा तालाबन्दी

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

रौतहटको कटहरिया नगरपालिकामा उपमेयरकै नेतृत्वमा तालाबन्दी भएको छ। बजेट भागबन्डाको विषयमा मेयर र उपमेयर तथा वडाध्यक्षबीच कुरा नमिलेपछि उपमेयरको नेतृत्वमा तालाबन्दी भएको हो।

मेयर अजयप्रकाश जैसवालविरुद्ध उपमेयरसहितका जनप्रतिनिधिले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। मेयरले करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाबकिताब सार्वजनिक गर्नुपर्ने मागसहित उपमेयर रितादेवी यादवसहितका जनप्रतिनिधिले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

जैसवालमाथि निर्वाचित भएदेखि नै जनप्रतिनिधिलाई झुक्याएर हस्ताक्षर गराई करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप छ। विभिन्न आठबुँदे माग गर्दै उपमेयर यादवसहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठाबाहिर निकालेर छुट्टाछुट्टै फाँटहरूमा तालाबन्दी गरेका छन्। 

नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिकामातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने–नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

मेयर जैसवालले करार कर्मचारी, डिजेल, पेट्रोल, कर्मचारीको खाजालगायत विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ अनियमितता गरिरहेको आरोप लगाएका थिए। गत १८ पुसमा बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त विषयबारे जानकारी माग्दा मेयर जैसवालले २३ पुसमा हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए। तर, निर्धारित बैठकमा मेयर जैसवाल, प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहसहित अनुपस्थित रहेको उपमेयर यादवले बताइन्।

उपमेयर यादवसहित वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायतले जैसवालले सहज रूपमा हिसाब सार्वजनिक नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिए। 

मेयर जैसवालले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरे। 

सुझावित समाचार