कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवार छनाेटमा गगन थापाको फरक मत

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसले छनाेट गरेको राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावलीप्रति महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी छनाेटमा आफ्नो फरक मत रहेको जनाए । तर, उनले उम्मेदवार छनाेटमा फरक मत भए पनि बैठकमा बहुमतले पारित गरेको कुरामा पूर्ण संलग्नता रहनेसमेत प्रतिबद्धता जनाए । 

थापाले राष्ट्रिय सभा प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विज्ञ व्यक्तिहरूलाई उपस्थित गराउने थलो भए पनि नेपाली कांग्रेसले त्यस्तो गर्न नसकेको बताए ।

पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित  भएका योग्य र लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड बनाए पनि संसदीय बोर्डको बैठकले त्यसमा ध्यान पुर्याउन नसकेको भन्दै यस्तो निर्णयले सबै तह र तप्कालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई खण्डित गरेको बताए । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई कमजोर बनाउने उनले उल्लेख गरे । 

सुझावित समाचार