कोशी प्रदेशलाई ११ रनले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाँचौँपटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले अपराजित यात्रा कायम राख्दै उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपिएफले पहिलो ब्याटिङ गर्दै ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रत्युत्तरमा कोशीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर मात्र १०३ रन जोड्यो । एपिएफले यसअघि सन् २०१७, २०१८, २०१९ र २०२२ मा उपाधि जितेको थियो । प्रतियोगितामा एपिएफसँग कोशीको यो तेस्रो हार हो । एपिएफले कोशीलाई लिग चरणमा ९२ तथा पहिलो क्वालिफायर्समा ५२ रनले हराएको थियो । उपाधिसँगै एपिएफले पाँच लाख तथा उपविजेता कोशीले तीन लाख रुपैयाँ पाएका छन् ।
रुविनाको अर्धशतक
कोशीकी ओपनर तथा कप्तान रुविना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई उपाधि जिताउन सकिनन् । उनले सर्वाधिक ६२ रन बनाउन ५८ बलमा सात चौका र एक छक्का प्रहार गरिन् । विकेटकिपरसमेत रहेकी काजोल श्रेष्ठले २२ रन जोडिन् । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । रुविना र काजोलबीच दोस्रो विकेटका लागि ६६ बलमा सर्वाधिक ६० रनको साझेदारी भएको थियो । ओपनर अप्सरी वेगम ८, चौथो नम्बरमा क्रिजमा आएकी लकिता राजवंशीले ६ रन बटुले । सवनम राई २ रनमा अविजित रहिन् । एपिएफकी कप्तान सीता रानामगर र करुणा भण्डारीले समान एक विकेट हात पारेका थिए ।
एपिएफविरुद्ध कोशीकी अप्सरी वेगमले ह्याट्रिक विकेट लिइन् । चार ओभर बलिङ गरेकी अप्सरीले २१ रन खर्चिंदै तीन विकेट लिएकी हुन् । अप्सरीले १९.१ ओभरमा इन्दुलाई आउट गरिन् । १९.२ ओभरमा नेरी थापा र १९.३ ओभरमा सोनु खड्कालाई गोल्डेन डकआउट गर्दै उनले ह्याट्रिक गरिन् । कोशीकी अलिसा खाडियाले दुई विकेट लिँदा कप्तान रुविना क्षेत्री र निशा साहले समान एक विकेट हात पारे ।
इन्दुले सम्हालिन् एपिएफको इनिङ्स
पहिलो ब्याटिङ गरेको एपिएफलाई राष्ट्रिय टोलीका खेलाडीको साथ रहेको थियो । अनुभवी खेलाडी भए पनि एपिएफले उपाधि भिडन्तमा गतिलो सुरुवात गर्न सकेन । एपिएफ इनिङ्सको एक समय कमजोर अवस्थामा थियो । त्यसपछि एपिएफलाई इन्दु बर्माले उकासेकी थिइन् । राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी इन्दुले अर्धशतक बनाइन् ।
उनको अर्धशतकको सहयोगमा एपिएफले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल बनायो । इन्दुले ४७ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५३ रन बनाइन् । ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । इन्दु र रामाले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । इन्दु र ज्योतिले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । कप्तान तथा ओपनर सीता रानामगर ८ बलमा १ रन बनाएर आउट भएपछि एपिएफ दबाबमा आएको थियो ।
रुविना सर्वाेत्कृष्ट खेलाडी
कोशी प्रदेशकी रुविना क्षेत्री प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । कोशी उपविजेता बन्दा रुविनाले समग्रमा ३४५ रन बनाइन् । प्रतियोगितामै उनी सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन् । उत्कृष्ट खेलाडी हुँदै रुविनाले एक थान स्कुटर पाइन् । उत्कृष्ट ब्याट्सम्यान गण्डकीकी सुमन खतिवडा भइन् । उनले प्रतियोगिताका सात खेलमा २१२ रन बनाइन् । उत्कृष्ट बलर मधेश प्रदेशकी पूजा महतो चुनिइन् । उत्कृष्ट चुनिएका तीनै खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् ।
ज्योतिको सन्न्यास
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य ज्योति पाण्डेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । पिएम कपमा उपाधि जितेसँगै ज्योतिले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने निर्णय लिएकी हुन् । एपिएफबाट घरेलु प्रतियोगिता खेल्ने ज्योतिले २०२१ मा कतारविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेकी थिइन् । उनले पछिल्लोपटक २०२३ जुनमा मलेसियाविरुद्ध नेपाली टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।
अपराजित रहँदै च्याम्पियन भयौँ, सीता रानामगर, कप्तान, एपिएफ
अपराजित भएर उपाधि जित्न सफल भएका छौँ । प्रतियोगिता राउन्ड रोबिन हुँदा खेलाडी अनुभवी भए । पहिलोदेखि फाइनलसम्म खेलाडीले राम्रो प्रदर्शन गरे । नयाँ खेलाडीले पनि राम्रो गरेका छन् । पूर्वाञ्चलले प्रतियोगिताभर राम्रो ग¥यो । ज्योति मेरो ओपनिङ पार्टनर हुन् । ज्योति नहुँदा नराम्रो लागेको छ । हामीलाई उनी नहुँदा समस्या हुन्छ । अहिले नै नलिएको भए पनि राम्रो हुने थियो जस्तो लाग्छ ।
अझै अनुभव चाहिन्छ, रुविना क्षेत्री, कप्तान, कोशी
टोली एकै खेलाडीमा निर्भर भयो । ११५ रनको लक्ष्य ठूलो होइन । सबैले फाइनलमा दबाब लिए । इनिङ्सको बीचमा धेरै डट बल भयो । एपिएफसँग खेल्ने युवा खेलाडीलाई अनुभव चाहिएको छ । केही खेलाडीले राम्रो खेले पनि अरूले सकेनन् । प्रदेशले अझै प्रतियोगिता राखेर खेलाडीलाई बुस्ट गर्न सक्छ । फाइलनमा पुग्न सक्यौँ । ज्योतिले सन्न्यास लिने थाहा थियो । हाम्रो चाहना नै खेलाडीको राष्ट्रिय टोलीबाट बिदाइ राम्र्रो होस् ।