लमजुङका विद्युत् संरचनामा सुधार, एक वर्षमा चार नयाँ फिडर सञ्चालन

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमजुङले विद्युत् संरचनामा व्यापक सुधार गरेको छ। विद्युत् संरचना जीर्ण भएसँगै विद्युतमा अनियमितता भएपछि यसलाई समाधान गर्न केन्द्रले विभिन्न क्षेत्रमा संरचना निर्माण गरेको छ।

पछिल्लो समय जिल्लाको बजार क्षेत्र र ग्रामीण क्षेत्रमा छुट्टाछुट्टै फिडरमार्फत विद्युत् वितरण सुरु गरेको केन्द्रले जनाएको छ। विगतमा सामुदायिक संस्थामार्फत वितरण गरीएको लमजुङ जिल्लाको विद्युत् सेवा नेपाल विद्युत् प्राधिकरणको जिम्मामा गएसँगै विद्युत् संरचनामा सुधार भएको उपभोक्ताहरू बताउँछन्। विगतमा जिल्लाभर चारवटा फिडरबाट मात्रै वितरण भएको विद्युत् पछिल्लो एक वर्षको अवधिमा थप चारवटा नयाँ फिडर सञ्चालनमा आइसकेको छ।

विद्युत् वितरण केन्द्र लमजुङका अनुसार जिल्लामा वितरण हुँदै आएको ११ केभी बेँसीसहर फिडरको लम्बाइ लामो भएका कारण अत्यधिक समस्या आउने गरेको थियो। 

विद्युत् फिडर लामो हुँदा समस्या पहिचान गर्न नै जटिल भएपछि बेँसीसहर बजार क्षेत्रका लागि सिटी फिडर जडान गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताए। सिटी फिडरको परीक्षण भई हाल चार्जमा रहेकाले फिडर पूर्ण रूपमा सञ्चालनपश्चात् बेँसीसहरमा विद्युत् समस्या नहुने वितरण केन्द्र प्रमुख भट्टराईको भनाइ छ।

यसअघि केन्द्रले गत मंसिर महिनामा पालुङटार सबस्टेसनबाट राइनास नगरपालिकाको लागि छुट्टै राइनास फिडर सञ्चालनमा ल्याएको थियो। राईनास फिडर सञ्चालनमा आएसँगै राईनास र सुन्दरबजारका लागि छुट्टाछुट्टै लाइन सञ्चालनमा रहेको केन्द्र प्रमुख भट्टराईको भनाइ छ। यस्तै केन्द्रले मर्स्याङ्दी गाउँपालिका– ३ थाकन सबस्टेसनमार्फत दुईवटा फिडर जडानको तयारी छ। 

त्यसैगरी, दूधपोखरी गाउँपालिकाका लागि दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनबाट पनि नयाँ फिडरको व्यवस्थापनको तयारी रहेको छ भने क्होलासोँथारका लागि मध्यनेपाल नगरपालिका भोर्लेटारबाट पनि छुट्टाछुट्टै फिडर निर्माण कार्य अगाडि बढाइएको वितरण केन्द्र लमजुङका नोलाइट प्रमुख लक्ष्मण कमलीले बताए।

उनले भने, ‘जिल्लामा यसअघि भएको विद्युत् वितरणबाट अत्यधिक समस्या आउने गरेकाले त्यसलाई व्यवस्थित गर्न अलग–अलग फिडरमार्फत विद्युत् वितरण सुरु गरेको हो।’ 

जिल्लामै विद्युत् वितरणलाई व्यवस्थित गर्ने अभियान सुरु गरेको वितरण केन्द्रले यसअघि उदीपुर सबस्टेसनदेखि बेँसीसहर– २, गैरीसम्म सडक किनारमा डबल सर्किट लाइन निर्माण गरी बेँसीसहर– ११ बरबोटदेखि बेँसीसहर– १० बाझाखेत हुँदै बेँसीसहर–६ चनौटेसम्म करिब १२ किलाेमिटर नयाँ लाइन निर्माण गरेको थियो।

हाल ग्रामीण क्षेत्र र बेँसीसहर बजार क्षेत्रलाई अलग–अलग फिडरमार्फत विद्युत् वितरण सुरु भइसकेको वितरण केन्द्रले जनाएको छ। 

See More On

सुझावित समाचार