१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुनुलाई कसरी हेर्नुभएको छ ?
यसलाई सकारात्मक रूपमै लिनुपर्छ । एक वर्षमा १० लाख पर्यटक भित्रिएको यो तेस्रोपटक हो । कोभिडको सन्त्रासपछि यसरी १० लाखको लक्ष्य पूरा हुनु सकारात्क छ । तर, पर्यटकलाई यति पर्यटक, यति विदेशी कूटनीतिक नियोगमा कार्यरत, यति नन रेसिडेन्स भनेर अंकमा छुट्याउन सकिन्न । १० लाखको संख्या सकारात्मक संकेत भए पनि यतिमै खुसी हुनुपर्ने विषय भने होइन । यसलाई सकारात्मक रूपमा लिएर २५, ३० वा ५० लाखको लक्ष्य लिएर अघि बढ्नुपर्छ ।
थप पर्यटक भित्र्याउन हाम्रा चुनौती के–के हुन् ?
हाम्रो पर्यटन क्षेत्रको ‘मार्केटिङ’ कमजोर छ । ४२ वर्षपछि पहिलोपटक नेपाल पर्यटन बोर्डले लन्डनमा आयोजित ‘इन्टरनेसनल मार्केटिङ इभेन्ट’ मा नजाने निर्णय गर्यो । आगामी अप्रिलमा बर्लिनमा आयोजना हुने अर्को इभेन्टमा पनि नजाने पक्का भइसकेको छ । यसले हाम्रो पर्यटन मार्केटिङमा असर गर्छ । हाम्रो युरोपसितको सीधा हवाई सम्पर्क नहुनु अर्को चुनौती हो । यहाँका कमजोर सडक संरचना पनि पर्यटक वृद्धिमा चुनौती बन्न सक्छन् ।
हामीले के–के गरेमा १० लाखबाट २०, २५ या ३० लाख पर्यटक भित्र्याउन सकिएला ?
हामीसित अहिलेकै भौतिक संरचनाले २५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिन कुनै समस्या छैन । राज्य र निजी क्षेत्रले हातेमालो गर्दै अघि बढ्ने हो भने यसमा कुनै चुनौती छैन । देशको अर्थतन्त्र संकटमा परेको समयमा पनि पर्यटनले नै धानिरहेको हुनाले यसलाई राष्ट्रिय उद्योगका रूपमा स्विकारेर अघि बढ्नुपर्छ ।