सर्लाहीमा पनि साहुकारबाट कुटिए दुई मिटरब्याजपीडित

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

सिडिओ कार्यालयअगाडि साहुकार रामस्वरूप रायबाट कुटिएकी अमरुल खातुनको गुनासो–साहुकारले कपडा च्यात्दै, लछारपछार गर्दै कुट्दा त्यहीँ रहेका सुरक्षाकर्मी मूकदर्शक बने

सर्लाहीमा पनि बुधबार साहुकारबाट मिटरब्याजपीडित दुई महिला कुटिएको घटना बाहिरिएको छ । मलंगवा नगरपालिका– ४ का साहुकार रामस्वरूप राय र उनका आफन्तले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मीकै सामुन्ने हरिपुर नगरपालिका– ५, लक्ष्मीपुरका अमरुल खातुन र मविना खातुनलाई कुटपिट गरेका हुन् । 

कुटपिटबाट घाइते मविनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने अमरुल उपचारपछि घर फर्किएकी छिन् । मविनाको छातीमा चोट लागेको छ, अमरुलको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै कपडा च्यातिएको छ । 

जिल्ला प्रशासन कार्यालयअगाडि मिटरब्याजपीडित महिलाहरूमाथि कुटपिट भएको निवेदन आफूकहाँ आएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोमलप्रसाद धमलाले बताए । ‘हिजो कार्यालयअगाडि कुटपिट भयो भनेर आउनुभएको थियो । महिलाको ब्लाउज च्यातिएको अवस्थामा देखियो । त्यस्तो हो भने लेखेर ल्याउनुस् न भनेँ, लेखेर ल्याएपछि आरोपीमध्येका एकजनालाई  तुरुन्तै पक्राउ गरेर हिरासतमै राखिएको छ,’ उनले भने । तर, पक्राउ परेका व्यक्तिबारे जिल्ला प्रशासन र प्रहरीले कुनै जानकारी दिएको छैन । 

रामस्वरूपसँग लिएको तीन लाख ऋणले अमरुलको तीन कट्ठा खेत र घरसहित साढे आठ धुर घडेरी गुमेपछि उनी गत असारबाट अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छानबिन आयोगमार्फत न्याय खोजिरहेकी छिन् । रामस्वरूपलाई तीन लाख ऋणबापत चार लाख ७८ हजार बुझाउँदा पनि उल्टै धितोबापतको जग्गा बेचिदिएपछि  आयोगले दुवै पक्षलाई छलफल गराएर तीन कट्ठा जग्गा, साढे ८ धुर घरसहितको घडेरी र एक लाख नगद फिर्ता गर्र्ने सहमति २ असार ०८० मा गरेको थियो । सहमतिअनुसार उनले १० साउनसम्म घरखेत पाउनुपर्ने भए पनि रामस्वरूपले फिर्ता नगरेपछि बुधबार प्रशासनले दुवै पक्षलाई बोलाएको थियो । ‘ममाथि तिमीहरू लागिप¥यौ, म त्यत्तिकै छाड्दिनँ भन्दै रामस्वरूपले मुक्का हाने । लछारपछार गरे, लुगा च्याते,’ अमरुलले भनिन्, ‘न्याय माग्दा कुटाइ खाइने रहेछ ।’

मविना पनि मिटरब्याजपीडित हुन् । मविनाका श्रीमान् हबिब साह फकिरले मिटरब्याजी साहु जाविर अली धोबीबाट लिएको ऋण मिटरब्याजमा परिणत भएको थियो । आयोगले गत असारमा दुवै पक्षलाई राखेर ऋणी फकिरले साँवा–ब्याजसहित दुई लाख ७५ हजार धोबीलाई तिर्नुपर्ने र साहु धोबीले धरौटी घडेरी बिक्री गरेको ३४ लाख ८५ हजारबाट ३२ साउन ०८० भित्र ३० लाख फिर्ता गर्नुपर्नेे सहमति गराए पनि कार्यान्वयन भएको छैन । त्यसैले उनी पनि निरन्तर प्रशासन धाइरहेकी छिन् । तर,  बुधबार रामस्वरूपले अमरुललाई कुट्न थालेपछि रोक्न पुगेकी मविनाले पनि कुटाइ खाइन् । ‘अमरुललाई कुट्न थालेका थिए, किन कुटेको भनेर छुट्याउन जाँदा मलाई पनि कुटे, छातीमा मुक्का हाने,’ उनले भनिन् । छलफल भएका र सहमति कार्यान्वयन नभएका तथा छलफल नै नभएका सर्लाहीका मिटरब्याजपीडित दैनिक जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले  मिटरब्याजपीडित महिलामाथि कुटपिट भएको घटना आफूहरूसम्म नआएको बताए । ‘कुटपिट  घटनाको विषयमा हामीलाई जानकारी आएको छैन,’ डिएसपी थारूले भने, ‘जानकारी आए त हामी तुरुन्त एक्सनमा गइहाल्छौँ । त्यस्तो कुनै औपचारिक वा अनौपचारिक जानकारी छैन ।’  

बुधबारै सिराहा जिल्ला अदालत परिसरमा साहुकार श्यामकुमार निरौला र उनका छोरा प्रभाषकुमार निरौलाले मिटरब्याजपीडित विष्णुपुर गाउँपालिका– १ की ककुल्तीदेवी यादव र सुकुमारीदेवी साहमाथि कुटपिट गरेका थिए । अदालतमा साक्षी बकपत्र गर्दागर्दै समय घर्किएपछि बाहिर निस्किएका पीडितहरूमाथि कुटपिट भएको थियो । उक्त घटनाबारे नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । यादवले निरौला बाउछोराविरुद्ध प्रहरीमा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी जाहेरी दिएकी छिन् । बुधबारै नियन्त्रणमा लिइएका निरौला बाबुछोराविरुद्ध जाहेरी दर्ता भएपछि थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ । 

See More On

सुझावित समाचार