राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आइपुगेका छन्। आज बिहान १०ः२ मा राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकाेप्टरबाट बागलुङ आइपुगेका हुन्।
बागलुङ नगरपालिका– ४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन्।
राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका हुन्। यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजा–अर्चना गर्ने छन्।
मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम संग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।
कोरोना संक्रमणका कारण अघिल्लोपटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो। यसअघि ०७६ मा महोत्सव भएको थियो। महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ। महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहनेछन्। महोत्सव करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ।
महोत्सवमा खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ। मेलामा सशस्त्र द्वन्द्वमा घाइते भएका नागरिकलाई निःशुल्क प्रवेशको सुविधा रहेको संघले जनाएको छ।