रुसी सेनामा रहेका १०० नेपाली घाइते र बेपत्ता

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

रुसी सेनामा रहेको आफ्नो मान्छे सम्पर्कमा नरहेको भन्दै खोजबिनका लागि सयजनाका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिए निवेदन

रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले उनीहरूको खोजबिन र स्वदेश फिर्ताको पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । परराष्ट्रको कन्सुलर सेवा विभागमा सयजनाको विवरणसहित परिवारले निवेदन दिएका हुन् । 

परराष्ट्रमन्त्री एनपी साउदले निवेदनको पुष्टि गर्दै कूटनीतिक च्यानलमार्फत रुस सरकारसँग जानकारी मागिएको बताए । ‘घाइते भएको, बेपत्ता भएको भन्दै खोजबिनका लागि सयजना जतिका परिवारले निवेदन दिएका छन् । हामीले रुस सरकारसँग त्यसको वास्तविकताका सम्बन्धमा जवाफ मागेका छौँ, तर जानकारी पाइसकेका छैनौँ,’ उनले भने, ‘निवेदनको आधारमा मात्रै पनि हामीले यति–उति भनेर यकिन गर्न सक्दैनौँ । तर, परिवारजनले परराष्ट्रमा जानकारी दिइरहेका छन् । यो संवेदनशील विषय भएको हुनाले रुस सरकारको आधिकारिक जानकारी आएपछि मात्रै यकिन भन्न सकिन्छ ।’ घाइते र बेपत्ताहरू रुस र युक्रेनमा कति छन् भन्ने यकिन छैन ।

रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म सातजनाको मृत्यु भइसकेको छ । चारजना युक्रेनमा सैनिक नियन्त्रणमा रहेको औपचारिक जानकारी छ । परराष्ट्र मन्त्रालयले ४ पुसमा यसबारे सार्वजनिक गरेको थियो । सरकारका अनुसार राजापुर– १ बर्दियाका विवेक खत्री र मण्डनदेउपुर– ६ काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ– २ मोरङका विकास राई र रुन्टीगढी– ८ रोल्पाका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् । तर, युक्रेनले नेपाललाई विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा हिरासतमा रहेको जानकारी दिएको छ । बाँकी नागरिकबारे युक्रेन सरकारले नेपाललाई आधिकारिक रूपमा जानकारी दिएको छैन । युक्रेनमा नेपालीको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको छ ।

रुसी सेनामा कार्यरत कुन्दनसिंह नागल (थप विवरण खुल्न बाँकी), गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भएका नेपालीबारे विस्तृत जानकारी माग्दै दुईपटक चिठी लेखिसकेको छ । ‘हामीले दुईपटक पठाएको जवाफ रुसबाट आएको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘रुसले एकपटक ६ नेपालीको निधन भएको र अर्कोपटक एकजनाको निधन भएको सूचना पठाएको छ । त्यसबाहेक हामीले सोधेको विषयमा रुसले जवाफ दिएको छैन ।’ 

नेपाल सरकारले रुसी सेनामा कार्यरत नेपाली युद्धबन्दी, घाइते र रुसी सेनामा हालसम्म भर्तीको संख्याबारे जानकारी मागेको छ । नेपालले निधन भएका आफ्ना नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ । तर, यी अनुरोधमा रुस सरकारले जवाफ दिएको छैन । 

परराष्ट्रले १६ साउन र १८ मंसिरमा विज्ञप्ति जारी गरी युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सबैलाई सचेत गरेको भन्दै भर्तीका लागि रुस नजान पुनः आग्रह गरेको छ । तर, पछिल्लोपटक रुसले नेपाली नागरिकलाई भर्ती नलिएको रुसस्थित नेपाली दूतावासले परराष्ट्रलाई जानकारी दिएको छ । 

रुसमा प्रतिनिधिमण्डल पठाउने सरकारी गृहकार्य
सरकारले रुसी सेनामा रहेका नेपालीको संख्या र उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उनीहरूलाई फिर्ता गर्ने सम्भावनाबारे यकिन गर्न मस्कोमा प्रतिनिधिमण्डल पठाउने गृहकार्य थालेको छ । ‘नेपालस्थित रुसी राजदूतावासमार्फत नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मस्को पठाउने इच्छा नेपाल सरकारले व्यक्त गरेको छ,’ उच्च सरकारी स्रोतले भन्यो, ‘दुई सयभन्दा बढी नेपाली रुसी सेनामा कार्यरत छन् भन्ने लगभग पुष्टि भएको छ । उनीहरूलाई स्वदेश फर्काउने विषयमा अब यहाँबाट कूटनीतिक प्रयास गरेर मात्रै पुग्दैन, प्रतिनिधिमण्डल नै पठाउनुपर्छ भन्ने छ । तर, टुंगो लाग्न बाँकी छ ।’ परराष्ट्रमन्त्री एनपी साउद वा परराष्ट्रसचिव सेवा लम्सालको नेतृत्वमा प्रतिनिधिमण्डल मस्को पठाउने विषयमा प्रधानमन्त्री प्रचण्ड चाँडै निष्कर्षमा पुग्ने स्रोतले बतायो ।

नेपालीलाई रसियन सेनामा पठाउने चारविरुद्ध मुद्दा दायर 
विद्यार्थी भिसा र भिजिट भिसाको आवरणमा नेपालीलार्ई रसियन सेनामा भर्तीका लागि पठाउने गिरोहमा आबद्ध चारजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पुतलीसडकस्थित एपल एजुकेसन कन्सल्टेन्सी तथा युजिन कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, उनकी श्रीमती सुजाता दाहाल, कर्मचारीहरू सन्तोष नेपाल र दीपेश अधिकारीविरुद्ध ठगी मुद्दा दायर भएको हो । 

उनीहरूविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा दायर भएको छ । एउटा मुद्दामा ६५ लाख तथा अर्काेमा १८ लाख ६५ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो । रसियाको सेनामा भर्ना भई भागेर आएका व्यक्तिहरूको जाहेरीका आधारमा मुद्दा दायर भएको काठमाडौं परिसरले जनाएको छ । उनीहरूले एकै व्यक्तिसँग १३ लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ । 

केहीलाई विद्यार्थी भिसा तथा केहीलाई भिजिट भिसामा रसिया पठाएर त्यहाँको सेनामा भर्ना गरिएको थियो । भर्ना भएकाहरूलाई युक्रेनसँगको युद्धमा लगाइएको छ । 

सुझावित समाचार