पांमा कप : तीन टिम सेमिफाइनल प्रवेश

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– ४ पांमास्थित भगिवन्त रंगशालामा जारी सातौँ पांमा कप फुटबल प्रतियोगितामा तीन टिम सेमिफाइनल प्रवेश गरेका छन्।

सोमबार एडभान्स र केवाइसीबीच भएको पहिलो खेलमा २–१ गोल गर्दै एडभान्स क्लब सेमिफाइनल प्रवेश गर्यो। दोस्रो खेलमा तीनपोखरीलाई २–० गोलअन्तरले पराजित गर्दै कोसी पुलिस सेमिफाइनल उक्लियो।

त्यसैगरी, आजै तेस्रो खेलमा भारतको सिक्किम र मकालु फ्रेन्ड्सबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेल बराबरी भएपछि मकालु फ्रेन्ड्स टाइब्रेकरमा ५—४ गोलअन्तरले पराजित भयो। भारतको सिक्किमले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरूको महान पर्व उधौली तथा धान्यपूर्णिमाको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो।

१२ क्लबको सहभागी प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद  ८१ हजार प्राप्त गर्नेछ। सेमिफाइनल पुग्ने २ टिमले जनही २५-२५ हजार पाउने आयोजकको भनाइ छ। 
 

सुझावित समाचार