प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले युपी ११ लाई ६५ रनले हराएको छ।
नारायणी रंगशालामा भएको खेलमा आर्मीले युपी ११ लाई १४.३ ओभरमा ६७ रनमा अलआउट गरेपछि ६५ रनले जितेको हो।
युपी ११ का खेलाडी अल्तमास आलमले २१ बलमा १६ रन बनाएका थिए। यसैगरी, शुभम चौधरीले १५ बलमा ११ रन, जयदीप सिंहले १२ बलमा ११ रन र तरुण कुमारले आठ बलमा १२ रनको योगदान गरे।
आर्मीका बलर पवन कार्की र साहब आलमले समान तीन–तीन विकेट लिए। कार्कीले दुई ओभरमा तीन रन मात्रै खर्चिँदा चार ओभर बलिङ गरेका आलमले २५ रन दिए।
आर्मीका अर्का बलर सोमपाल कामी र बसिर अहमदले दुई–दुई विकेट लिए। सोमपालले तीन ओभरमा १४ र बसिरले १.३ ओभरमा दुई रन दिए।
यसअघि ब्याटिङ गरेको आर्मीले युपी ११ लाई एक सय ३३ रनको लक्ष्य दिएको थियो। १९.५ ओभरमा अलआउट हुँदै आर्मीले एक सय ३२ रन जोडेको हो।
आर्मीका लागि सन्तोष कार्कीले ३२ बल खेल्दै सर्वाधिक ४४ रन बनाए। भीम सार्कीले २३ बलमा २३ रन, साहब आलमले १७ बलमा २२ रन र बसिर अहमदले १४ बलमा १४ रन जोडे।
युपी ११ का बलर वासी अन्सारीले चार ओभरमा १० रन दिएर तीन विकेट लिँदा सहिम अहमदले २.५ ओभरमा २१ रन दिएर दुई विकेट लिए। यसैगरी, अहमद अन्सारीले चार ओभरमा दुई विकेट लिँदै ३१ रन खर्चिए।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडा प्रतिस्पर्धामा छन्।