एमालेको मध्यपहाडी यात्रापछिको सात निष्कर्ष र संकल्प : कार्यान्वयनका लागि सुरुमा ध्यानाकर्षण, त्यसपछि जनदबाब

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

एमालेले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गकेन्द्रित १८ दिने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को सात निष्कर्ष र संकल्प सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार सञ्चारकर्मीसँग बृहत् अन्तक्र्रिया कार्यक्रममार्फत एमालेले १४ मंसिरदेखि १ पुससम्म सञ्चालित यात्राको निष्कर्ष र संकल्प सार्वजनिक गरेको हो । 

यात्रामा अनुभूत गरेको अनुभव र समस्यालाई निष्कर्ष र संकल्पसहित ३२ बुँदामा सूत्रीकृत गरेको एमालेले कार्यान्वयनका लागि तीनै तहका सरकारसँग छलफल, ध्यानाकर्षण र जनदबाबको रणनीति अख्तियार गर्ने जनाएको छ । आइतबारै अध्यक्ष केपी ओलीले मध्यपहाडको जनताको माग र आवाज सम्बोधनका लागि ठोस र विस्तृत छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेको जानकारी गराए । 

‘झुलाघाट–चिवाभञ्ज्याङ यात्राका सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई के भनेको छु भने गठबन्धनसँग, सरकारसँग, प्रधानमन्त्रीसँग गर्नुपर्ने थुप्रै कुरा छन्,’ ओलीले भने, ‘यात्राका क्रममा त्यहाँ (मध्यपहाड)का जनताका, भूगोलका मागलाई लिखित रूपमै पनि प्रस्तुत गर्छौँ, त्यसमाथि विस्तृत छलफल आवश्यक छ, विकासको क्रमलाई अगाडि बढाउनुपर्छ ।’ 

जनता लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको निष्कर्ष निकाल्दै एमालेले सामन्ती व्यवस्था पुनस्र्थापना गर्ने र परिवर्तन उल्ट्याउने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने संकल्प गरेको छ । ‘निश्चय नै जनताका गुनासा पनि छन्, सुझाव पनि छन् । कतिपय सन्दर्भमा आलोचना पनि छन् । रचनात्मक र सही गुनासा, सुझाव र आलोचनालाई ग्रहण गर्दै हामी संकल्प गर्दछौँ, हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिनेछौँ ।

परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्ययुगतिर फर्काउन र जनताको अभिमतविनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनस्र्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौँ । हामी स्पष्ट छौँ, लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्छ,’ एमालेको निष्कर्ष छ । जनताका प्रतिनिधिका हातबाट लोकतान्त्रिक संविधान बनिसकेको र जनताका अधिकार संवैधानिक दृष्टिले सुनिश्चित भइसकेको अवस्थामा सुशासन, समृद्धि र विकास नै मुलुकका सर्वोपरि प्राथमिकताका कार्यसूची भएको भन्दै एमालेले पछिल्लो समय गठबन्धन सरकारका भ्रष्ट र दोहनकारी क्रियाकलापका कारण जनतामा निराशा बढिरहेको, राष्ट्रिय हित जोखिममा पर्न थालेको र कतिपय लोकतन्त्रविरोधी तत्वहरू यस्ता निराशालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्न प्रयत्नशील देखिएको जनाएको छ ।

 मध्यपहाड यात्राबाट संकलित सुझावलाई विश्लेषणसहित लिपिबद्ध गरेपछि सरकारलाई ध्यानाकर्षण गराउने, पूरा गराउन तीनवटै तहमा जनदबाब सिर्जना गर्ने बाटो अख्तियार गर्ने पनि एमालेले जनाएको छ । ‘संकल्प यात्राका क्रममा हामीलाई सयौँ मागपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र प्राप्त भएका छन् । तिनीहरूमार्फत जनताले हामीसमक्ष हजारौँ माग प्रस्तुत गर्नुभएको छ । तपाईंहरूको भरोसा र तपाईंहरूले दिनुभएको नासोलाई हामीले अलपत्र पर्न दिनेछैनौँ । यतिवेला हामी ती मागहरूको अध्ययन, विश्लेषण र वर्गीकरण गरिरहेका छौँ,’ एमालेले भनेको छ, ‘यो काम सकिनेबित्तिकै हामी ती विषयहरू राज्यको जुन तह (संघीय, प्रादेशिक या स्थानीय)सँग सम्बन्धित छ, त्यहाँ बुझाउनेछौँ र तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ, आवश्यकताअनुसार जनदबाब दिनेछौँ ।’

केपी ओली भन्छन्– विश्वविद्यालयमा चार–पाँच वर्षको कोर्स गरेजति शिक्षा मिल्यो
झुलाघाट–चिवाभञ्ज्याङ यात्राका सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भयो । पहाडका जनताका भूगोलका मागलाई हामी लिखित रूपमै पनि प्रस्तुत गर्छौँ । करिब तीन हप्तामा दुर्गम बाटाहरू छिचोलेर हामीले हिउँ परेको पनि अनुभव लियौँ र र्‍याफ्टिङ चलाएको पनि देख्यौं, टन्टलापुर घाममा पनि सभा गर्‍यौँ ।

कठ्यांग्रिने चिसोमा पनि हिँड्यौँ । ती सबै ठाउँमा गएर जनतासँग साक्षात्कार गर्‍यौँ । हामीले व्यक्तिगत, उमेरगत, समूहगत, क्षेत्रगत, व्यवसायगत विभिन्न प्रकारका माग सुन्यौँ । त्यसले हाम्रो बुझाइलाई फराकिलो पारेको छ । एउटा विश्वविद्यालयमा गएर चार–पाँच वर्षको कोर्स गरेजति अध्ययन हामीले छोटो अवधिमा गर्‍यौँ । एकैचोटि हामीले स–साना बालबालिकादेखि तिनलाई पढाउने शिक्षक, युवालाई पढाउने प्राध्यापकदेखि, व्यापार गर्ने व्यवसायी, उद्यमी, मजदुरदेखि विभिन्न क्षेत्रका व्यक्तिसँग संवाद गर्‍यौँ ।

मध्यपहाडी मार्गको निर्माणसँग डबल लेनको सुरक्षित बाटोका रूपमा विकास गर्नुपर्छ । अहिले त पहाड बैंसमै दाँत फुक्लेजस्तो भएको छ । लगाउने ठाउँ नभएको, फुक्लिनचाहिँ अगाडिको दुईवटा दाँत फुक्लेजस्तो भएको छ पहाड । त्यसलाई जोगाउने हो भने विकासका पूर्वाधार तयार गर्नेदेखि, हार्डवेयर, सफट्वेयर दुवै ठीक गर्नुपर्छ । 

मध्यपहाडमा सकारात्मक परिवर्तन पनि भएको छ
समस्याका बाबजुद कतिपय सकारात्मक परिवर्तनलाई पनि एमालेले पाँच बुँदामा सूत्रीकृत गरेको छ । प्रायः सबै पालिका र वडामा कच्ची नै भए पनि सडकको पहुँच पुगेको र हिजो ५–६ दिनसम्म लगाएर मात्रै पुगिने गाउँबस्ती आज सडक पूर्वाधारका कारणले केही घन्टाकै पहुँचभित्र आएको, आम रूपमा सबै ठाउँमा खानेपानी, बिजुली र टेलिफोन सुविधा पुगेको, शिक्षा र स्वास्थ्यका पूर्वाधार पनि हिजोका तुलनामा धेरै राम्रो भएको र सडक, बिजुली र फोनको पहुँचले आमजनताको चेतनास्तर पनि आश्चर्यजनक रूपमा वृद्धि भएको कुरालाई सकारात्मक पक्षका रूपमा सूत्रीकृत गरिएको छ ।

मध्यपहाड कृषि, फलफूल र पशुपालनका दृष्टिले असाध्यै उर्वर र सम्भावनायुक्त क्षेत्रका रूपमा रहेको भन्दै सुन्तलालगायत अमिलो प्रजातिका फलफूल, एभोकाडो, किबी र ड्रयागन फ्रुटजस्ता नयाँ फलफूलको प्रचुर सम्भावनालाई उपयोग गर्नुपर्ने, दूध व्यवसायको भण्डार बनाउनुपर्ने, बाख्रा, कुखुरा र बंगुरपालन एवं ट्राउटजस्ता महँगो मूल्यका माछाहरूको खेतीको राम्रो सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिएको छ ।

 पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली, कालीगण्डकी, मध्यमस्र्याङ्दी, बुढीगण्डकी, सुनकोशी, दूधकोशी, अरुण, तमोर र काबेलीजस्ता परियोजना समयमै सम्पन्न गरेर यस क्षेत्रको विकासमा कायापलट गर्नुपर्ने, पयर्टकीय गन्तव्यको विकास गर्नुपर्ने, दैलेखमा अन्वेषण र उत्खनन हुँदै गरेको पेट्रोलियम र ग्यास, बैतडी जिल्लाको फस्फोराइट तथा म्याग्नेसाइट, जाजरकोटलगायत जिल्लामा पाइने मूल्यवान पत्थर, दोलखाको म्याग्नेसाइट र विभिन्न स्थानमा पाइने चुनढुंगाको उपयोग गरी सम्भावनाको खोजी गरिनुपर्नेमा पनि एमालेको जोड छ । 

मध्यपहाडका नौ समस्या
बसाइँसराइ, बाँझो जमिन, युवा पलायनदेखि जलवायु परिवर्तनसम्म

एमालेले यात्राका क्रममा अनुभूत गरेका पहाडका नौ समस्यालाई सूत्रीकृत गरेको छ । पहाडी गाउँबस्तीमा बसाइँसराइ ठूलो चुनौतीका रूपमा देखापरेको र यात्रा गरेका ३० जिल्लामध्ये अधिकांशको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको र कतिपय गाउँबस्ती रित्तिँदै गएको अनुभव एमालेले समस्याका रूपमा पहिचान गरेको छ । यस्ता छन् नौ समस्या :

  १. विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्ने क्रम बढेको, गाउँमा श्रमका लागि युवाहरूको अभाव रहेको, कतिपय ठाउँमा वृद्धवृद्धाको हेरचाह गर्ने या मलामी जाने युवाको समेत अभाव रहेको भन्दै बसाइँसराइका पछाडि केही बाध्यात्मक कारण रहेको एमालेले औँल्याएको छ । 

२. ‘पछिल्लो समय ‘नेपालमा अवसर नै छैन’, ‘नेपाल बन्दै–बन्दैन’, ‘विदेशमा अवसर नै अवसर छ’ र ‘जसरी पनि त्यहाँ पुग्न पाइयो भने जिन्दगी सप्रिहाल्छ’ भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले पनि युवाहरूको बाह्य आप्रवासनलाई बढावा दिइरहेको छ । यसको समाधानका लागि तत्काल पहल अनिवार्य भएको छ,’ एमालेले भनेको छ, ‘युवाहरूको विदेश प्रवासनले जटिल पारिवारिक समस्या निम्तिन थालेको हामीले देख्यौँ । वृद्धवृद्धाको हेरचाह, नानीहरूको स्याहारसुसार, हुर्काइ र पढाइ तथा महिलाको जीवनमा कतिपय जटिलता थपिएको र मनोवैज्ञानिक समस्या उत्पन्न भएको पायौँ ।’ 

३. उत्पादक र उपभोक्ताबीच सीधा सम्बन्ध हुने खालको वितरण प्रणाली व्यवस्था गर्ने, बिचौलियाको बिगबिगी नियन्त्रण गर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने गरी आयातित खाद्य र पेयवस्तुलाई निरुत्साहित गर्ने, ठूलो मात्राको उत्पादनलाई प्रोत्साहन गर्ने, भूमि बैंकलगायत माध्यमबाट बाँझो जमिनको सदुपयोग गर्ने तथा मल, बिउ र सिँचाइमा किसानलाई प्रोत्साहन गर्ने काम गर्नु अनिवार्य देखिएको भन्दै एमालेले बैंक तथा वित्तीय संस्थाबाट किसान तथा उद्यमीलाई सहुलियतपूर्ण ऋण तथा अन्य सुविधा सुनिश्चित हुनु आवश्यक रहेको जनाएको छ ।

४. दशकौँदेखि पर्ती जमिन आवाद गरेर बसेका, तर जग्गा नापी नभएको र जग्गाधनी प्रमाणपुर्जा नपाएका कारण भूमि अधिकारबाट वञ्चित भएका हजारौँ परिवार भेटिएको, सिन्धुपाल्चोकलगायत जिल्लामा गुठी जग्गाका कारण पुस्तौँदेखि जग्गा कमाएर पनि भूस्वामित्वबाट वञ्चित भएका सयौँ परिवारका समस्या सुनिएको भन्दै एमालेले पहल लिने प्रतिबद्धता जनाएको छ । 

५. जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण पानीका मुहान सुकिरहेको, पानीको सतह घटेका कारण सिँचाइ कुलो सुक्खा हुन थालेको, बाढीपहिरोको जोखिम बर्सेनि बढ्दै गएर बस्तीहरू रित्तिएको, उत्तरतिर हेर्दा हिमालहरू तीव्र गतिमा पग्लिइरहेको देखिएको भन्दै एमालेले अनुकूलन र प्रतिरोधी क्षमता अभिवृद्धिसम्बन्धी ठोस योजना ल्याउन ढिलो भइसकेको निष्कर्ष निकालेको छ । 

६. उद्यमी व्यवसायीहरू निकै निराश र हतोत्साहित अवस्थामा देखिएको, बैंकको बढ्दो ब्याजदर, अपारदर्शी र झन्झटपूर्ण कर नीति, कर प्रशासकहरूको निर्मम व्यवहार, सरकारको भ्रष्ट र अमैत्रीपूर्ण नीतिका कारण धेरैले व्यवसाय बन्द गरेको, चलाएकाले पनि पूर्ण क्षमतामा नचलाएको र व्यवसायमा भविष्य छ भन्ने आत्मविश्वास टुटेकाले उद्यमी व्यवसायीहरूको मनोबल उँचो उठाउन आवश्यक नीतिगत र संरचनागत सुधार तत्काल हुनुपर्ने देखिएको पनि जनाएको छ । 
७. भेरी–बबई, सुनकोशी–मरिन, पुष्पलाल लोकमार्गजस्ता यस्ता क्षेत्रका रूपान्तरणकारी आयोजनाको प्रगति सन्तोषजनक नभएको निष्कर्ष एमालेले निकालेको छ । 

८. निरोगी नेपाल अभियानलाई सार्थक तुल्याउन चेतना अभिवृद्धि, बिमा र जनता रहेकै स्थानमा विशेषज्ञतासहितको सुविधासम्पन्न अस्पातालको अवधारणामा एकैसाथ शिलान्यास गरिएका तीन सय ९६ वटा आधारभूत अस्पताल अलपत्र पारिएको एमालेको ठहर छ ।

९. विकासका काममा चरम राजनीतिक पक्षपात देखा परेको भन्दै एमालेले भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध समाजमा सार्वजनिक असन्तुष्टि देखापरेको निष्कर्ष निकालेको छ । 

सुझावित समाचार