क्रसकन्ट्री दौडको उपाधि आर्मीका तामाङलाई

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका गोपाल तामाङले कोल्मा बहाकोट क्रसकन्ट्री दौडको उपाधि हात पारेका छन्।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाको आयोजनामा कोल्मामा सम्पन्न चौथो संस्करणको दौडको निर्धारित २५ किलोमिटर दूरी तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै उपाधिसँगै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए।

आर्मीकै सञ्जय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए। उनले नगद ४० हजार पाउँदा तेस्रो भएका आर्मीकै सुशीलकुमार शाहीले एक घण्टा ३४ मिनेट २ सेकेन्डमा दूरी पूरा गर्दै नगद ३० हजार प्राप्त गरे।

२१ वर्षमुनिको १० किमि पुरुष खुला दौडको उपाधि तनहुँका सनम गुरुङले हात पारे। ४१ मिनेट १४ सेकेन्डमा दूरी पार गरेका उनले  उपाधिसँगै नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी, ४२ मिनेट ४३ सेकेन्डमा दूरी पार गरेका पोखराका तेन्जेन रोकाले दोस्रो हुँदै नगद २० हजार र पोखराका मनोज रोकाले ४२ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भई नगद १० हजार हात पारे।

महिलातर्फ भएको पाँच किमि दौडको उपाधि जुम्लाकी राममाया बुढाले हात पारिन्। दाङकी सुस्मिताकुमारी चौधरी दोस्रो र पोखराकी नितु तामाङ तेस्रो हुँदै क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार पाएकाे आयोजक मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङले जानकारी दिए।

सुझावित समाचार