सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ।
नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो।
एपिएफले यसअघि मधेश प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई नाै विकेटले पराजित गरेको थियो । एपिएफ तीन खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ। कोशी प्रदेशको समान ६ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।
जितका लागि एक सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा नाै विकेट गुमाउँदै ६१ रनको योगफल बनायो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन्। उनले ४९ बलमा दुई चौकासहित २८ रन बनाइन्। त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपिएफकी इन्दु वर्माले तीन विकेट लिइन्। त्यस्तै, विनु बुढाले दुई विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान एक–एक विकेट लिए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रनको योगफल बनाएको थियो। एपिएफको जितमा इन्दु वर्माले सर्वाधिक ७० रनको योगदान दिइन्। उनले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ७० रनको योगदान दिएकी हुन्। त्यस्तै, ममता चौधरीले ५८ बलमा पाँच चौकासहित ५९ रन बनाइन्।
त्यसैगरी कप्तान सीता रानामगरले नाै, रोमा थापाले तीन तथा राजमती ऐरीले दुई रन बनाइन्। लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एक–एक विकेट लिए।