गेटवेलाई फेका कप

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण

गेटवे एकेडेमीले १६औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गेटवेले पहिलोपटक फेका कप जितेको हो । स्वच्छ शैक्षिक प्रतिस्पर्धीको संगठन (फेका)द्वारा आयोजित प्रतियोगिताको फाइनलमा गेटवेले पूर्वविजेता न्यु स्टार पोललाई १–० ले पराजित गर्यो । गेटवेका प्रतीक रायमाझीले निर्णायक गोल गरेका थिए । प्रतीक नै फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । मूलपानीमा तेस्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो । अक्षरिकाका निशान थापा ‘म्यान अफ द म्याच’ चुनिए । 

पहिलो भएको गेटवेले ४० हजार र उपविजेता न्यु स्टारले २० हजार रुपैयाँ पाएका छन् । तेस्रो भएको अक्षरिकाले पाँच हजार रुपैयाँ हात पार्यो । प्रतियोगिताले १६औँ संस्करणसम्म कोटदेवी, करिअर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोठाटारले समान तीनपटक उपाधि जितेका छन् । न्यु स्टार पोल, कस्मिक इन्टरनेसनल एकेडेमी, ओरियन्टल एकेडेमी, ग्रिनविच एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमी र कौस्तुभ समान एकपटक च्याम्पियन बनेका छन् ।

गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते । लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसँगै सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगिताभर लक्ष्मणले सात गोल गरे । हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान खेलाडी घोषित भए । डिफेन्डरमा न्यु स्टारका दीप बोगटी, मिडफिल्डरमा अक्षरिकाका रविन मगर, गोलरक्षकमा न्यु स्टारका सोमित मण्डल र प्रशिक्षकमा गेटवेका सरिन नापित उत्कृष्ट चुनिए ।

विजेता खेलाडीलाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानालगायतले पुरस्कृत गरे । २१ मंसिरदेखि सुरु प्रतियोगितामा २४ टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

See More On

सुझावित समाचार