पश्चिम सहरका पर्यटक बोलाउन ‘जाऊँ है पोखरा’ अभियान सुरु

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

पश्चिम सहरका आन्तरिक पर्यटकलाई पोखरा भ्रमणको लागि बोलाउने उद्देश्यसहित शुक्रबारदेखि ‘जाऊँ है पोखरा’ अभियान सुरु भएको छ।

होटेल संघ पोखरा र नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु अभियान ३ पुससम्म चल्नेछ।

अभियानअन्तर्गत शुक्रबार पोखराबाट आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघका पदाधिकारी, पर्यटन बोर्डका प्रतिनिधि, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहित २० जनाको टोलीले पश्चिमका सहरहरु भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलनसँगै सरोकारवाला पक्षसँग अन्तर्क्रिया गरेको छ।

कोरोनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई जगाउन पश्चिमी सहरका पर्यटकहरूलाई पोखरालगायत आसपासको क्षेत्र भ्रमणका लागि निम्ता दिने उद्देश्य अभियानको रहेको संघका अध्यक्ष सुवेदीले जानकारी दिए। 

अभियानले पोखरासँगै पश्चिमका सहरमा आन्तरिक पर्यटनलाई पुनरुत्थान गर्ने दाबी गरिएको छ। ‘हामीले उताका पर्यटकलाई यता (पोखरा) आऊ मात्र भन्दैनौँ, पोखरासँगै आसपासका आन्तरिक पर्यटकलाई पश्चिमका सहरमा जान प्रेरित पनि गछौँ,’ सुवेदीले भने।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अभियानले दुवैतर्फ पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने जानकारी दिँदै पोखरा आसापासका पर्यटकीय क्षेत्रको जानकारी दिने र गएको टोलीले पोखरा फर्किएर पश्चिमका सहरहरूको भ्रमणमा जाऊँ भनी प्रचार गर्ने मुख्य उद्देश्य अभियानको रहेको बताए।

सुझावित समाचार