ग्लोबल आइएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । 

साधारणसभाबाट संस्थापक सेयरधनीमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएको जनाइएको छ । 

नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकलाई शपथ गराउने बैंकले जनाएको छ । 

 ९ प्रतिशत लाभांश पारित 
साधारणसभाले आव ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको जनाइएको छ । 

बैंकले आव ०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको उल्लेख छ । प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्ने जनाइएको छ । 

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने उनको भनाइ थियो ।  

आव ०७९/८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको जनाइएको छ । बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको उल्लेख छ । बैंकले सोही अवधिमा चार खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै तीन खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाइएको छ । बैंकमा रहेका करिब चार हजार कर्मचारीले ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाइएको छ । 

सुझावित समाचार