यसकारण महुआ मोइत्राको पक्षमा

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

म मुक्तकण्ठले महुआ मोइत्राको प्रशंसा गर्छु । मोइत्रा र म फरक पार्टीका हौँ । उनको पार्टीलाई लिएर मेरा कैयाैँ मतभिन्नता छन् । तर, म यो लेखमा यी भिन्नताबारे चर्चा गर्ने छैन । केही यस्ता मुद्दा हुन्छन्, जहाँ राजनीतिक भिन्नताका बाबजुद पनि हामी सबैले मुखर हुनुपर्छ । मोइत्राले व्यापक लिंगभेद, चरित्र हत्या, असभ्य टिप्पणी र दुराशयपूर्ण चियोचर्चाेको सामना गरेकी थिइन् । वास्तवमा यो व्यवहारबाट मुलुकका लगभग सबै महिला कुनै न कुनै रूपले प्रताडित छन् । तर, मोइत्राको मामिला प्रताडनामा मात्रै सीमित छैन, उनीप्रति भएको लिंगभेदी र स्त्रीद्वेषी व्यवहार नै उनको संसद् निकालाको कारण बन्यो । 

यदि हामी महिलाको हैसियतमा सरकारको कार्यको निन्दा गर्न एकजुट हुँदैनौँ भने हाम्रो मौनताले महिलाको भावी पुस्तालाई सार्वजनिक जीवनमा प्रवेश गर्नबाट निरुत्साहित गर्नेछ । संसद्को अघिल्लो अधिवेशनमा सरकारले महिला संघर्षका कारण आएको महिला आरक्षण विधेयकको श्रेय लिएर झुटो दाबी गरेको थियो । तर, अहिले सरकारले हाम्रो लोकतन्त्रको छविलाई धमिलो पार्दै लिंगभेदी व्यवहारमा नयाँ कीर्तिमान कायम गरेको छ । सत्ताको विषाक्त अभियानका बाबजुद मोइत्राले अटल साहस देखाएकी छिन् । बधाई छ महुआ मोइत्रा । यसअघिका सांसदलाई आफ्नो दलिल पेस गर्ने मौका नदिई निष्कासन गरेको उद्धृत गर्नु वा महुआलाई आफ्नो प्रतिरक्षा गर्ने मौका नदिन परम्पराको प्रयोग गर्नु अन्याय हो ।

डिसेम्बर २००५ मा कोब्रापोस्ट स्टिङ अपरेसनले ११ सांसदले संसद्मा प्रश्न उठाउन रकम स्वीकार गरेको खुलासा गरेको थियो । यी ११ मध्ये ६ जना भाजपाका, तीनजना बसपाका र एक–एकजना आरजेडी र कंग्रेसका थिए । तत्कालीन सभामुख सोमनाथ चटर्जीको नेतृत्वमा रहेको समितिले यी सांसदलाई निष्कासन गर्न सिफारिस गरेको थियो । लोकसभा मतदानका क्रममा लालकृष्ण आडवाणीको नेतृत्वमा भाजपाले सांसदको बचाउ गरेका थिए, अर्थात् उनका अनुसार सांसदका गतिविधि भ्रष्टाचार नै भए पनि सजाय कठोर थियो । स्मरण रहोस्, त्यतिवेला प्रमाण सबैमाझ स्पष्ट थियो ।

ठीकविपरीत मोइत्राका मामिलामा मोइत्राले संसद्मा ‘प्रश्न गरेबापत नगद’ लिएको कुनै प्रमाण छैन । प्रमाण नभएकै कारण मोइत्राविरुद्ध सिबिआई जाँचको सिफारिस गरिएको छ । जाँचको नतिजा नपर्खीकन हतारोमा गरिएको निष्कासनले प्रश्न खडा गरेको छ । मोइत्रालाई उनले पाउने ‘महँगो’ उपहार देखाएर उनीविरुद्ध आक्रमण गर्ने गरिन्छ, जबकि प्रधानमन्त्री नरेन्द्र मोदीको महँगो मोनोग्राम सुटमा कुनै छानबिन नै भएन । छानबिनको नतिजा नआई मोइत्रालाई गरिएको निष्कासनले लैंगिक पूर्वाग्रह झल्काउँछ ।

आसपासे पोस्ने पुँजीवादको विकासविरुद्ध मुखर हुनु राष्ट्रिय हित र चासोको विषय हो । मोइत्रालाई निष्कासन गर्दा प्रश्नहरू हट्नेछैनन् ।

सत्ताको नजरमा महुआ मोइत्रा बृहत् सन्देश प्रवाह गर्नका लागि तयार पारिएकी सौम्य लक्ष्य थिइन् । अर्थात् नाम लिनै नमिल्नेको नाम ललकारे त्यसको परिणाम व्यहोर्नुपर्छ भन्ने थियो । मोइत्राविरुद्ध उजुरी गर्ने भाजपा सांसद निशिकान्त दुबेले नै यो वर्षको मार्चमा मोइत्रा र झारखण्डकी एक महिला विधायकलाई ‘वेश्या’सँग तुलना गरेका थिए । एमबिए गरे भनेर दाबी गरेका दुबेको शैक्षिक प्रमाणलाई यी दुई महिलाले प्रश्न गरेका थिए र जवाफमा उनले ट्विट गर्दै दुवै महिलालाई ‘वेश्या’सँग तुलना गरेका थिए । यसका बाबजुद उनलाई उनका पार्टीका नेताले कुनै कारबाही गरेनन् ।  

दुबेले स्रोतको सूचनालाई उद्धृत गर्दै मोइत्राविरुद्ध लगाएको भ्रष्टाचारको आरोपको पछाडि स्पष्ट उद्देश्य रहेको दाबी गर्दै सार्वजनिक रूपमा दुबेको सामना गरेकी थिइन् । दुबेको सामना गर्दा उनले आफूविरुद्ध सूचना दिने व्यक्ति आफूले ‘तिरस्कार गरेको प्रेमी’ भएको र उसको नियत आफ्नो कुण्ठा पोख्नु रहेको दाबी गरेकी थिइन् । सम्भवतः पहिलोपटक होला एक महिला सांसदले सार्वजनिक रूपमा आफ्नो अन्तरंग सम्बन्ध खुलाएकी थिइन् ।

मोइत्रालाई तारो बनाउने पुरुष वर्चस्ववादीको कपट स्पष्ट थियो, किनभने यी पुरुषको एजेन्डा व्यक्तिगतस्तरमा आक्रमण गर्नु थियो । मोइत्राको गोप्य र व्यक्तिगत तस्बिरलाई इन्टरनेट ट्रोलले सामाजिक सञ्जालमा फैलाएका थिए, जहाँ तस्बिरका मुनि भद्दा लैंगिक विभेदी टिप्पणी गरिएका थिए । यी ट्रोलका अनुसार महिला पवित्र, विनम्र र आज्ञाकारी हुनुपर्ने हुन्छ, जसको शिर छोपिएको र नजर भुइँतिर हुनुपर्छ, जहाँ महिला आफ्नो लोग्नेलाई पछ्याउँछिन् । यो अवस्थामा ट्रोलका लागि सार्वजनिक रूपमा सिगार सल्काउने वा वाइनको गिलास समातेको तस्बिर साझा गर्नुभन्दा राम्रो मौका के हुन सक्छ ? यी ट्रोलका लागि सबैभन्दा आपराधिक नैतिकता भनेको महुआ मोइत्राले छनोटको पोसाक पहिरिनु थियो । यी धारणाले गम्भीर पूर्वाग्रह र यसबाट सञ्चालित दोहोरो मापदण्डलाई जोड दिन्छ । 

लाजमर्दाे के भयो भने नैतिकता समिति आफैँले सबैभन्दा अनैतिक व्यवहार गरेको छ । कथित रूपमा एक पुरुष उद्योगी हिरानन्दनीसँगको उनको सम्बन्धबारे प्रश्न गरेर नैतिकता समितिले उनका विरुद्ध अत्यधिक आपत्तिजनक व्यवहार गरेको थियो । के नैतिकता समितिमा उपस्थित हुने सबै व्यक्तिलाई यस्ता प्रश्न गरिन्छ ? मोइत्रालाई गरिएको यो प्रश्नले नैतिकता समितिमा रहेका विपक्षी सांसदलाई प्रश्न सुनुवाइ कार्यक्रमलाई बहिष्कार गर्न बाध्य बनाएको थियो ।

सञ्चारमाध्यमका केही हिस्सामा उनका विरुद्ध बारम्बार दोहोरिने लाञ्छनायुक्त अभियानले वास्तविक तथ्य लुकाएको छ र त्यसलाई विकृत बनाएको छ । उनले अडानी उद्योगबारे प्रश्न उठाएकी थिइन् । उनले अडानी घरानाप्रतिको सरकारको दोहोरो मापदण्डको पर्दाफास गरेकी थिइन् । वास्तवमा यस्ता प्रश्न उठाउनेमा मोइत्रा एक्लै थिइनन् । संसद्भित्र र बाहिर अधिकांश विपक्षी दलका नेताले यस्तै मुद्दा उठाइरहेका छन् । आसपासे पोस्ने पुँजीवादको विकासविरुद्ध मुखर हुनु राष्ट्रिय हित र चासोको विषय हो । मोइत्रालाई निष्कासन गर्दा प्रश्नहरू हट्नेछैनन् ।
(करात भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)की पोलिटब्युरो सदस्य हुन्) द इन्डियन एक्सप्रेस

सुझावित समाचार