ग्लोबल आइएमई बैंकको स्टक ब्रोकर कम्पनी जेबिएनएल सेक्युरिटिज सञ्चालनमा

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबिएनएल सेक्यूरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गरी टिएमएसमार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरे।

सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गर्दै धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए।

त्यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं. १० नयाँबानेश्वर शंखमूलमार्ग र नेपाल स्टक एक्सचेन्ज लि.को धितोपत्र दलाल सदस्य नं. ८९ छ।
 

सुझावित समाचार