योग्यता नपुगेका व्यक्तिले बेच्छन् औषधि

इजाजतविना सञ्चालित तीनवटा औषधि पसल सिल, तीन पसलबाट औषधि जफत

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

कैलालीमा कतिपय औषधि पसलमा योग्यता नपुगेका व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागको नेपालगन्ज कार्यालयले गरेको अनुगमनका क्रममा औषधि पसल इजाजतविना सञ्चालन भएका र योग्यता नपुगेका व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको हो ।

१६ वटा औषधि पसलको अनुगमन गरिएकोमा धेरैजसो पसलमा औषधि ऐनले तोकेको योग्यता नपुगेका व्यक्तिले औषधि बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ । त्यस्ता पसललाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको विभागको नेपालगन्ज कार्यालयका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले बताए । ‘ऐनले औषधि बिक्रीको योग्यता ओरेन्टेसन गरेको फर्मासिस्ट वा सहायक फर्मासिस्ट भनेको छ, तर धेरैजसो मेडिकलमा पारामेडिकल र सिएमए पढेकाले औषधि बिक्री गर्ने गरेको पाइयो,’ उनले भने, ‘यसले औषधिको अनुचित प्रयोग र दुरुपयोग हुन सक्छ ।’

त्यस्तै, इजाजतविना र योग्यता नपुगेका व्यक्तिले औषधि पसल सञ्चालन गरिरहेको पाइएको विभागले जनाएको छ । विभागको टोलीले तीनवटा मेडिकल सिल गर्नुका साथै तीनवटा मेडिकलबाट औषधि जफत गरेको छ । इजाजतविना औषधि पसल सञ्चालन गर्ने एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको शाहले जानकारी दिए । बर्दगोरिया गाउँपालिका– ३ खैरेनीमा इजाजतविना औषधि पसल सञ्चालन गर्दै आएका तापस लस्कर पक्राउ परेका हुन् । उनलाई प्रहरीको हिरासतमा राखेर आवश्यक कारबाही अगाडि बढाइएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । 

त्यस्तै, इजाजतविना गौरीगंगा नगरपालिका– १ मा सञ्चालनमा रहेको मान्श्री आयुर्वेद र श्रीवास्तव मेडिकल सिल गरिएको शाहले जानकारी दिए । सर्जिकलको अनुमति लिएर औषधि बिक्री गरेको पाइएपछि अत्तरियामा रहेको श्रीजी सप्लायर्स पनि सिल गरिएको विभागले जनाएको छ ।

धनगढी उपमहानगरपालिका– ७ मा सिएमए पढेका व्यक्तिले सञ्चालन गरेको भैरव क्लिनिकबाट सबै औषधि अनुगमन टोलीले जफत गरेको छ । होमियोपेथिकमा दर्ता गरी एलोपेथिक औषधि बिक्री गरेको पाइएपछि धनगढी– ७ कै जेसी होमियो मेडिकलबाट पनि सबै औषधि जफत गरिएको फार्मेसी निरीक्षक शाहले जानकारी दिए ।

अनुगमनका क्रममा औषधि बिक्रीमा गम्भीर लापरबाही हुने गरेको देखिएको उनले बताए । ‘धेरैजसो मेडिकलमा औषधि बिक्रीका लागि योग्यता पुगेका व्यक्ति नबस्ने, दर्ता नभएका औषधि बिक्री गर्ने र नियमित बिक्रीको बिल नराख्ने गरेको पाइएको छ,’ शाहले भने, ‘त्यस्ता मेडिकललाई कारबाहीको प्रक्रियामा जान्छौँ ।’ विभागको टोलीले १६ देखि २३ मंसिरसम्म कैलालीका १६ वटा औषधि पसलमा अनुगमन गरेको छ ।

See More On

सुझावित समाचार