दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) घोषणापत्रको ३९औँ वर्षमा सदस्य देशका शीर्ष नेताहरूले सार्क आवश्यक रहेको सन्देश दिए पनि उनीहरूले नौ वर्षदेखि ठप्प सार्क प्रक्रिया सुचारु गर्ने प्रतिबद्धता भने जनाउन सकेका छैनन् । भारत र पाकिस्तानबीचको तनावका कारण सुस्तप्रायः सार्क प्रक्रिया तालिवान समूहले अफगानिस्तानको सत्ता लिएपछि ठप्प छ । नेपालको कूटनीतिक जोडबलमा सार्कले यसपालि महासचिवको निरन्तरता पाउनेबाहेक थप उपलब्धि भएको छैन ।
२३ मंसिर ०४२ मा (८ डिसेम्बर १९८५ ) मा बंगलादेशको ढाकामा आयोजित सार्कको पहिलो शिखर सम्मेलनले सार्क बडापत्र जारी गरेको थियो । बडापत्रमा नेपालका तत्कालीन राजा वीरेन्द्र शाह, भारतका प्रधानमन्त्री राजीव गान्धी, बंगलादेशका राष्ट्रपति हुसेन मुहम्मद एरसद, भुटानका राजा जिग्मे सिग्मे वान्चुक, मालदिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जिया उल हक, श्रीलंकाका राष्ट्रपति जुनियुस रिचार्ड जयवर्दनेले हस्ताक्षर गरेका थिए । त्यसयताको ३९ वर्षमा सार्कको १८ शिखर सम्मेलन सम्पन्न भएका छन् । भारत र पाकिस्तानको तनावका कारण नौ वर्षदेखि १९औँ शिखर सम्मेलन रोकिएको छ ।
नेपाल सार्कको अध्यक्ष हो र काठमाडौंमा सचिवालय रहेको छ । नेपालको कूटनीतिक प्रयासमा बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवर सार्क महासचिव नियुक्त भएका छन् । नौ वर्षमा सार्कको प्रगति भनेको यही हो । ‘यसपालि वर्णानुक्रमअनुसार अफगानिस्तानलाई महासचिव दिनुपर्ने थियो । तर, त्यहाँको शासनलाई सार्क सदस्य मुलुकले मान्यता नदिएका कारण सार्कमा महासचिव नै नियुक्त नहुने अवस्था थियो । यसमा परराष्ट्रसचिव भरतराज पौड्यालको निरन्तर कूटनीतिक प्रयासमा बंगलादेशबाट महासचिवको नियुक्ति गराउन हामी सफल भएका छौँ,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो ।
सन्देशमा पनि भारत र पाकिस्तानबीच घोचपेच
सार्क घोषणापत्रको ३९औँ वर्षमा शीर्ष नेताहरूले सन्देश जारी गर्दै सार्कलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सन्देशमा भारत र पाकिस्तानका प्रधानमन्त्रीको सन्देशमा आपसी घोचपेच उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको प्रभावकारिताका लागि उपयुक्त शान्तिपूर्ण वातावरण बन्नुपर्नेमा जोड दिएका छन् । पाकिस्तानका प्रधानमन्त्रीले भने सार्वभौमसत्ता अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिबी, कुपोषणलगायत पुराना मौजुदा चुनौती यो क्षेत्रमा रहेको चर्चा गर्दै थप निकट सहयोगको आवश्यकता बढेको बताएका छन् । जलवायु परिवर्तन, साइबर सुरक्षा, प्राकृतिक विपत्तिजस्ता नयाँ चुनौतीको सामना गर्न परिणाममुखी सहकार्यमा जोड दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाका जनताको हितमा सहकार्य गर्न शान्ति र सुरक्षाको उपयुक्त वातावरणमा जोड दिएका छन् । उनले भनेका छन्, ‘सार्कको उद्देश्यअनुसार दक्षिण एसियाका जनताको लाभका लागि सहकार्य गर्न केवल शान्ति र सुरक्षाको वातावरणमा मात्रै सम्भव छ । यो उद्देश्यलाई साकार बनाउन भारत प्रतिबद्ध छ ।’
पाकिस्तानका प्रधानमन्त्री अनवाल उल हक काकरले क्षेत्रीय सहयोगको शक्ति र क्षमताप्रति पाकिस्तानको पूर्ण विश्वास रहेको बताएका छन् । ‘सार्क बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र पारस्परिक सम्मानको सिद्धान्तको पालना गर्ने अवस्थामा मात्र परिणाममुखी क्षेत्रीय सहकार्य र सहयोगको सम्भावना हुन सक्छ ।’
बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले यो क्षेत्रका जनताको सामाजिक आर्थिक विकासका लागि सार्कको महत्व रहेको उल्लेख गरेकी छिन् । व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीमार्फत सामूहिक सहकार्यका माध्यमबाट यो उद्देश्य पूरा हुने उनको विश्वास छ । सार्क बडापत्रलाई समृद्धिको मार्गदर्शन बनाउनुपर्ने उनले भनेकी छिन् । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेले संथापक सदस्यका रूपमा सार्कको अपार क्षमतालाई श्रीलंकाले आत्मसात् गरेको बताएका छन् ।
भुटान सरकारका प्रमुख सल्लाहकार चोग्याल दागो रिन्जिनले प्राकृतिक स्रोत तथा मानवस्रोत एवं प्रचुर सांस्कृतिक विविधताले यो क्षेत्रको सम्भाव्यता र सामथ्र्य स्थापित गरेको उल्लेख गरेका छन् । ‘सदस्य मुलुकहरूसँग मिलेर सार्क प्रक्रियालाई थप सुदृढ बनाउन भुटान प्रतिबद्ध छ । यो क्षेत्रको साझा समृद्धि र शान्ति पनि यसैमा निहित छ,’ चोग्यालले भनेका छन् ।
मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले साझा लक्ष्य पहिचान गर्न र क्षेत्रीय चुनौती सम्बोधन गर्न सार्कले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएको ६ वर्षपछि ३ चैत ०७६ मा सार्कका शीर्ष नेताबीच भिडियो कन्फरेन्समा छलफल भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा कोभिड महामारीविरुद्ध सहकार्यका विषयमा छलफल भएयता यो तहमा छलफल हुन सकेको छैन ।