एक सय ११ वर्षपछि सान्तोष ‘बी’ डिभिजनमा

शनिबार, २३ मंसिर, २०८०
डिजिटल संस्करण

पेले र नेमारजस्ता विश्वप्रसिद्ध खेलाडी उत्पादन गरेको ब्राजिलियन क्लब सान्तोष पहिलोपटक रेलिगेसनमा

सान्तोषका फुटबल समर्थकले बिहीबार बिहान इतिहासमै कल्पना नगरेको सामाचार सुने । विश्व फुटबल इतिहासमै एक इतिहास रचेको सान्तोष क्लब पहिलोपटक रेलिगेसनमा पर्यो । सन् १९१२ मा स्थापना भएको क्लब सान्तोषको नाम लिँदा पेले र नेमार जुनियरकै नाम अगाडि आउने गर्छन् । पेले र नेमार फुटबलले पाएकामध्ये राम्रा खेलाडीमा पर्छन् । अझ पेलेको कुरै नगरौँ । उनले आफ्नो सिंगो फुटबल करिअर नै सान्तोषमै बिताएका थिए । 

पेलेले सन् १९५६ देखि ७४ सम्म खेल्दा पाँच सय ८३ खेलमा पाँच सय ६९ गोल गरेका थिए । ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाउँदा पेलेलाई युरोपियन क्लबबाट राम्रो प्रस्ताव आएको थियो । तर, पेलेले आफ्नो पहिचान नै सान्तोष र यसबाट अलग भएर फुटबल यात्रा अगाडि बढाउन नसकिने जनाएका थिए । यही माया र मोहका कारण नै पेलेलाई सान्तोषका समर्थकले अहिलेसम्मकै महान् खेलाडीका रूपमा लिने गर्छन् ।

गत वर्ष उनी ८४ वर्षको उमेरमा संसारबाट बिदा हुँदा पनि सान्तोषले गहिरो दुःख मनाएको थियो । अर्कोतिर वर्तमान पुस्ताकै प्राविधिकका रूपमा पोख्त स्ट्राइकर नेमारले व्यावसायिक फुटबल करिअर सान्तोषबाट गरेका थिए । उनले यहाँ सन् २००९ देखि २०१३ सम्म १७७ खेलमा १०७ गोल गरे । सन् २०१३ ताका सान्तोषबाट बार्सिलोनामा अनुबन्ध हुँदा नेमारको चर्को आलोचना भएको थियो । नेमारले त्यसवेला आफू ब्राजिलियन फुटबल युरोपमा पुर्याउने र आफू आधुनिक फुटबलको स्वाद लिन सान्तोष परित्याग गरेको बताए । यद्यपि, वेला–वेलामा नेमारले सान्तोषले लगाएको गुण कहिल्यै बिर्सन नसक्ने बताउँदै आएका छन् ।

‘अहिले म जे छु, सबै सान्तोषकै कारण थियो,’ तत्काल नेमार भन्ने गर्थे, ‘इतिहास बोकेको क्लबबाट युरोपियन क्लबमा खेल्दा खल्लो लागेको थियो ।’ कुनै समय ब्राजिलियन फुटबलमा एकछत्र राज गरेको सान्तोषले यो सिजन राम्रो खेल्न सकेन । 

ब्राजिलियन प्रिमियर सिरी ‘ए’ लिगकै अन्तिम दिनमा सान्तोष फर्टालेजसँग २–१ ले स्तब्ध हुँदा रेलिगेसनमा परेको हो । खेलमा जित निकाल्दा सान्तोषको रेलिगेसन जोगिने थियो । क्लब इतिहासमा सान्तोषले सन् १९५० देखि ६० को अवधिमा १२ स्टेट उपाधि, ६ लिग तथा दुईपटक कोपा लिबेर्टाडोर्स कप जितेको थियो ।  

बजेटको समस्या
कुनै पनि क्लब रेलिगेसनमा पुग्दा धेरै पक्षको विश्लेषण हुन्छ । के–कति कारणले क्लबको प्रदर्शन एक्कासि खस्कियो भन्ने प्रश्न उठने गर्छ । यतिवेला फुटबल समर्थकले सान्तोषको प्रदर्शनमाथि यस्तै प्रश्न गरिरहेका छन् । ब्राजिलियन मिडियाको भनाइ मान्ने हो भने यस सिजनमा सान्तोषको व्यवस्थापन राम्रो थिएन । हालै क्लबमा नयाँ अध्यक्ष चुनिएको थियो । दुई साताअघि सान्तोषको नयाँ कार्यसमिति बनेको थियो । नयाँ कार्यसमितीले क्लबलाई अर्को सिजनका निमित्त योजना बनाएको थियो ।

पदाधिकारी यति विश्वासमा थिए, यस सिजनमा अंकतालिकाको मध्यमै रहनेछ । तर, अन्तिम तीन खेलको नतिजापछि पदाधिकारीले आफूहरूले गलत निर्णय गरेको एजेन्सीहरूले जनाएका छन् । ‘मुख्य गरी सान्तोषको कमजोर प्रदर्शन र इतिहासमै पहिलोपटक रेलिगेसनमा पर्नुपछाडि आर्थिक अवस्था नै थियो,’ ब्राजिलयन पत्रिकाहरूले लेखेका छन्, ‘घरेलु मैदानमा प्रतिस्पर्धा हुँदा टेलिभिजन राइटदेखि अन्य आम्दानीका स्रोतको व्यवस्थापन हुन सकेन,’ एजेन्सीको भनाइ छ । ब्राजिलको लिगमा अहिलेसम्म फलामेगो र साओ पाउलो रेलिगेसनमा परेका छैनन् । 

सुझावित समाचार