नेपाल सुपर लिग : इन्जुरी समयमा सम्हालिन नसक्दा चितवन रोकियो

बुटवल–लुम्बिनीसँग १–१ को बराबरी नतिजा व्यहोरेको चितवनले प्ले अफमा स्थान बनाउन बाँकी चार खेल जित्नैपर्ने

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

विदेशी खेलाडी स्टेफन समिर विनोङले अन्तिम पाँच मिनेट इन्जुरी समयकै पहिलो मिनेटमा गोल गरेपछि दशरथ रंगशालामा एफसी चितवन दोस्रो जित निकाल्न वञ्चित भएको छ । नेपाल सुपर लिगको आफ्नो चौथो खेलमा बुधबार बुटबल लुम्बिनी र चितवनले १–१ गोलको बराबरी खेलेका हुन् । बराबरी नतिजाबाट दुवै टोली खुसी देखिएन् । स्पष्ट ३ अंकले प्ले अफको सम्भावना बलियो हुने थियो । यसकारण पनि यी दुवै टोली प्ले अफमा स्थान बनाउन चर्को दबाबमा देखिएका हुन् । अब लिगमा चार खेल बाँकी छ । चारै खेलमा जित निकाल्दा मात्र प्ले अफको सम्भावना हुनेछ । तीन खेलमा हार वा बराबरीले नतिजाले प्ले अफबाट टाढिने अवस्था छ । 

बुटबल लुम्बिनीसँगको बराबरी नतिजा निकाल्दा चितवनले अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चितवनले चार खेलबाट ५ अंक बटुल्दा एक जित र हार सामना गरेको छ । यसैगरी चितवन दुई खेलमा बराबरीमा रोकियो । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बटुल्यो । चितवनले तेस्रो खेलमा वीरगन्जविरुद्ध २–१ को रोमाञ्जक जित निकालेको थियो । एनएसएलमा चितवनले पहिलो जित नै वीरगन्जमाथि निकालेको थियो । 

‘दिनदिनै मिहिनेत गरिरहेका छौँ । प्रदर्शनमा सुधार आएको छ । प्रत्येक खेलमा अवसर धेरै बनाएका छौँ,’ चितवनका लागि भारतीय प्रशिक्षक मेहराजुद्दिन वाडुले भने, ‘प्ले अफ पुग्न कठिन छ, तर प्रदर्शन हेर्ने हो भने सम्भावना बलियो छ ।’ अन्तिम समयमा गोलरक्षक तथा मार्की विशाल श्रेष्ठसँगै दुई विदेशी खेलाडीबीच तालमेल नमिल्दा चितवन स्पष्ट जितबाट टाढियो । बुटवलले निरन्तर रूपमा गोल प्रयास जारी राखेको थियो । खेलको अन्तिम इन्जुरी समयसम्म गोल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको बुटवलले १ अंक हात पार्यो । बराबरीसँगै बुटवलले एक स्थान सुधार पनि गर्यो । चार खेलबाट ४ अंक जोडेको बुटवल छैटौँ स्थानमा उक्लेको छ ।

बुटवल पहिलो खेलमा ललितपुर सिटीसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग १–० ले नै हार्न पुग्यो । मार्की खेलाडी एरिक विष्टको विश्वस्तरीय गोलसँगै तेस्रो खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराएको थियो । बुटवलका प्रशिक्षक विजय महर्जनले बाँकी खेल जित्नै पर्ने दबाब रहेको प्रस्ट पारे । ‘बाँकी खेलमा निकै दबाब हुनेछ । हामीले जसरी पनि जित्नैपर्छ । तर, यो दबाब स्वीकार गर्छु,’ महर्जनले भने ।

चितवनविरुद्ध जित्नुपर्ने खेलेमा एक सामान्य गल्ती गोलका कारण दबाबमा परेको उनले जनाए । ‘आज जसरी हुन्छ ३ अंक नगुमाउने लक्ष्यका साथ आएका थियौँ । तर, खेलमा एक सिल्ली गोल भयो । जसकारण अंक बाँड्नुप¥यो,’ महर्जनले भने । प्रतियोगितामा ४० मध्ये १६ खेल सम्पन्न हुँदा ८ अंकसहित पोखरा शीर्ष स्थानमा छ ।  

स्टेफनले टारे संकट
हारतर्फ अग्रसर भइसकेको बुटवलका लागि विदेशी खेलाडी स्टेफनले संकट टारेका थिए । ९० मिनेटको खेलसम्म चितवन १–० ले जिततर्फ अग्रसर थियो । फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलमा पाँच मिनेट इन्जुरी समय थप गरे । इन्जुरी समयको पहिलो मिनेटमै स्टेफनले गोल गर्दै बुटबललाई १–१ को बराबरीमा ल्याए । मोन्टेनेग्रोका रक्षक इभानोभिक र घानाका रक्षक अब्मुबारिक युसिफसँगै चितवनका गोलरक्षक विशालबीच डिबक्सभित्र तालमेल मिलेन । विपक्षी खेलाडीको गल्तीमा स्टेफनले भरपुर फाइदा लिँदै गोल गरे । 

सुझावित समाचार