प्रधानमन्त्रीले पहल गरेमा २० वर्षदेखि युएईको जेलमा रहेका अमरले न्याय पाउने परिवारको आस

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युएई भ्रमणका अवसरमा दार्चुलाका अमरबहादुर बमले न्याय पाउने परिवारले अपेक्षा गरेको छ । अमर २० वर्षदेखि युएईको जेलमा छन् । 

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार युएई जाँदै छन् । प्रधानमन्त्री प्रचण्डले युएईका शेखसँग अमरबारे कुराकानी गरे उनले न्याय पाउने बाबु कर्णबहादुर बमले अपेक्षा गरेका छन् । 

२००२ मा अमर वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । त्यहाँ पुगेको एक महिना पनि बित्न नपाउँदै उनी हत्याको आरोपमा जेल परे । उनलाई युएई सरकारले मृत्युदण्ड घोषणा गरेको पनि २० वर्ष भइसक्यो । तर, युएई सरकारले उनलाई दण्ड भने दिएको छैन । युएई कानुनले उनलाई अपराधी ठाने पनि जेल प्रशासनका अधिकारी भने उनलाई निर्दोष नै ठान्छन् । त्यसैले पनि उनको सजाय कार्यान्वयनमा ढिलाइ भइरहेको छ ।

१९ जनवरी २००३ मा दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्या भयो । भारतकै मनोज मुदाना र करन सिंह राजपुतले गोली हानी उनको हत्या गरेका थिए । अमर उनीहरूका गाडीचालक थिए । उनीहरूले अमरलाई गाडीमै कुर्न लगाए र क्लबभित्र छिरे । त्यहाँ सेठ्ठीको हत्या गरे । त्यो घटनाबारे अमरलाई केही थाहा थिएन । एक सातापछि हतियार उपलब्ध गराएको अभियोगमा अर्का भारतीय स्मद कुलत बनवारी पक्राउ परे । त्यसको करिब एक वर्षमा दुबईको उच्च न्यायालयले मनोज र करनलाई हत्या गरेकामा तथा अमरलाई मतियारका रूपमा मृत्युदण्ड दिने फैसला सुनायो । त्यसपछि उनलाई जेलमा राखियो । 

प्रधानमन्त्रीले युएईका शेखलाई भेटेमा अमरले पाउन सक्छन् माफी 
विनाअपराध युएईको जेलमा परेका अमरबहादुर बमलाई नेपालको प्रधानमन्त्रीले मात्रै बचाउन सक्ने नेपाली समाज युएईका पूर्वअध्यक्ष कृष्ण ढकालले बताए । ‘युएईका प्रधानमन्त्रीसमेत रहेका दुबईका शासक शेख मोहम्मद बिन रसिक मोक्तम उदार दिलका छन् । न्याय र सुरक्षामा उनको देशभरि तारिफ हुन्छ । प्रधानमन्त्री आएर शेखसँग सौहार्दपूर्ण रूपमा वास्तविकता राख्ने हो भने उनले सजिलै आममाफी पाउँछन्,’ उनले भने । 

युएईमा सर्वोच्च न्यायालयले तोकेको सजाय पनि शेखले माफी मिनाहा गर्न सक्ने प्रावधान छ । प्रधानमन्त्री तहबाट प्रयास गर्ने हो भने माफी पाउने आस बमको छ । निर्दोष भए पनि नेपाल सरकारले आफ्ना नागरिकको मूल्य बुझ्न नसकेको युएईमा लामो समयदेखि पत्रकारिता गर्दै आएका उमाकान्त पाण्डेले बताए । ‘युएईमा धेरै देशका श्रमिकले काम गर्छन् । आफ्ना श्रमिकलाई समस्या प¥यो भने तत्काल सम्बन्धित मुलुकले नै चासो देखाउँछ । तर, नेपाल सरकारले भने रेमिट्यान्सको मात्रै हिसाब राख्छ,’ उनले भने । 

अमर बम अपराधी होइनन् भन्ने कुरा मुख्य अपराधीकै बयानले स्पष्ट हुन्छ । उनले युएईको भाषा र नियम बुझ्न नसक्दा पनि आफ्नो सफाइ दिन नसकेको पाण्डेले बताए । उनका अनुसार ठुल्ठूला अपराध गरेका आफ्ना नागरिकलाई कति देशका प्रमुख आई लिएर जाने गरेका छन् । ‘म निर्दोष छु, बाँच्न चाहन्छु’ भन्दै बमले सधैँ अनुनय गर्ने गरेको पत्रकार पाण्डेले बताए । मृत्युदण्ड सुनाएको २० वर्ष भइसके पनि उनी अहिलेसम्म जेलमै छन् । नेपाली समाजका पूर्वअध्यक्ष ढकालका अनुसार निर्दोष अमर बमको केसलाई भारतसँग कुरा गरेर युएईमा अलग–अलग मुद्दाको रूपमा स्थापित गर्न सक्नुपर्छ । प्रधानमन्त्री तहबाट पहल भएमा सजिलै उद्धार गर्न सकिने उनको भनाइ छ । 

सुझावित समाचार