त्रिविले स्नातकोत्तर टपरलाई दिने ‘कुलपति पदक’ अबदेखि हटाउने

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ । विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसार हुने भएकाले सबै संकायमध्ये उत्कृष्ट विद्यार्थीलाई दिइने मेडल कटौती गर्न लागिएको हो । कुलपति पदकमा तीन तोला सुन राखिएको हुन्छ । ०१६ देखि गत वर्ष अर्थात् ४८औँ दीक्षान्त समारोहसम्म सो पदक वितरण गरिएको थियो । आगामी २ पुसमा हुने ४९औँ दीक्षान्त समारोहबाट यो पदक रोकिनेछ । 

मूल्यांकनको आधार फरक भएकाले यसलाई हटाउन लागिएको विश्वविद्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्प जोशीले सबै संकायमध्येबाट सर्वोत्कृष्ट अंक ल्याउनेलाई दिइने पदक मात्रै हटाउन लागिएको जानकारी दिए । ‘सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हटाउँछौँ,’ उनले भने, ‘ग्रेडिङ प्रणालीका कारण यो हटाउनुपरेको हो, किनभने कुन विद्यार्थी टपर हो भनेर छुट्याउन गाह्रो भयो ।’  तर, स्नातक तह र अन्य विभाग टपरहरूलाई दिने पदक तथा पुरस्कार भने कटौती गरिएको छैन । स्नातक तहमा अध्ययन गर्नेमध्ये एकजना उत्कृष्ट विद्यार्थीलाई एक तोला सुन जडित उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, विषयगत विभागअन्तर्गत २७ वटा मेडल वितरण गरिन्छ । यी मेडलमा विभाग टपरलाई १० आनासम्म सुनजडित पदक दिइन्छ । 

पुष्प जोशी परीक्षा नियन्त्रक, त्रिवि 
सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हटाउँछौँ । ग्रेडिङ प्रणालीका कारण यो हटाउनुपरेको हो, किनभने कुन विद्यार्थी टपर हो भनेर छुट्याउन गाह्रो भयो ।

ग्रेडिङ प्रणालीअनुसार उत्कृष्ट विद्यार्थी छुट्याउन कठिन हुन्छ । यस प्रणालीमा जिपिए ४ ल्याउनेलाई उत्कृष्ट मानिन्छ । तर, सो जिपिए एकजना मात्रै विद्यार्थीले नल्याउने हुँदा उत्कृष्ट मापन गर्न कठिन हुन्छ । सोहीकारण आगामी पुसमा हुने दीक्षान्त समारोहदेखि यसप्रकारको मेडल वितरण रोक्ने तयारी भइरहेको मानविकी संकायका डिन कुसुम शाक्यले जानकारी दिइन् । ‘नम्बर प्रणालीका आधारमा उत्कृष्ट विद्यार्थी छुट्याउन सकिन्थ्यो, तर ग्रेडिङ प्रणालीमा गइसकेपछि जिपिए ४ ल्याउने विद्यार्थी एकजना मात्रै हुँदैन,’ उनले भनिन्, ‘त्यसकारण पनि यो रोक्न आवश्यक देखिएको हो ।’ 

यसअघि ४ साउनमा बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले पनि उत्कृष्ट हुने विद्यार्थीलाई दिइने मेडल हटाउनुपर्ने भन्दै यसको कार्यान्वयनका लागि परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयहरूलाई जानकारी गराउने निर्णय गरेको थियो । त्यस्तै, ३ असारमा बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले पनि यसै वर्षदेखि लागू हुने गरी स्नातकोत्तरमा उत्कृष्टलाई दिइने ‘गोल्ड मेडल’ वितरण रोक्ने निर्णय गरेको थियो । 

त्रिविको विभाग टपर हुने विद्यार्थीलाई दिइने मेडल तथा पुरस्कार त्रिवि आफैँले खर्च गर्दैन । अर्थशास्त्रमा टपर हुनेलाई ताराप्रसाद चौधरी, भाषा विज्ञानमा रामविक्रम सिजापति, अन्तर्राष्ट्रिय कूटनीतिमा दुर्गाबहादुर सुवेदीलगायतले स्थापना गरेको संस्थाले पदक तथा पुरस्कार दिँदै आइरहेको छ । तर, स्नातकोत्तर र स्नातक तह टपरलाई भने त्रिविले नै रकम छुट्याएर मेडल दिँदै आएकोमा अबदेखि हटाउन लागिएको हो । 

त्रिविले आगामी २ पुसमा हुने दीक्षान्त समारोहको तयारी अघि बढाएको छ । यसपटकको दीक्षान्त समारोहमा ७४ हजार विद्यार्थी दीक्षित हुँदै छन् । फाराम भर्ने संख्या भने १२ हजार पाँच सय मात्रै छन् । दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनेछन् । 

सुझावित समाचार